प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नुवाकोट- खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको बट्टार प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको पहिलो दिन एक सय जना खेलाडीहरूले दोस्रो चरणमा प्रवेश गरेका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ नुवाकोटमै पहिलो पटक जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्घाटन गर्नुभयो ।
उहाँले खेलाडिहरुको पहिचान र क्षमता प्रदर्शनमा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने वताउनुभयो । खेलबाट खेलाडीहरूको शारीरिक, मानसिक स्थिति मजबुत हुनुका साथै खेलकुद गतिविधि चलायमान भएकोसमेत वताउनुभयो ।
यही वैशाख २३ गतेसम्म सञ्चालन नवनिर्मित ब्याडमिन्टन कभर्ड हलमा हुने प्रतियोगितामा पाँच जना खेलाडीहरूको सहभागिता रहेको नुवाकोट ब्याडमिन्टन सङ्घका अध्यक्ष धनसिंह तामाङले वताउनुभयो । उहाँका अनुसार विभिन्न सात इभेन्टमा प्रतियोगिता गराइने छ ।
प्रतियोगितामा पुरुष जोडी, भेट्रान्स पुरुष, जिल्लाभित्रका खुल्ला पुरुष जोडी, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी, छात्रछात्रातर्फको अन्डर १५, पुरुषहरूतर्फको मिक्स डवल इभेन्टमा खेल खेलाइने आयोजकले जनाएको छ । टिम दर्ताका लागि छात्रछात्रातर्फको अन्डर १५का लागि पाँच सय, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी र जिल्लाभित्रका खुल्ला पुरुष जोडीका लागि एक हजार पाँच सय र अन्य विद्याका लागि दुई हजार रुपैयाँ दर्ता शुल्क कायम गरिएको थियो ।
प्रतियोगितामा पुरुष जोडीतर्फका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तृतीयले २० हजार, भेट्रान्स पुरुषतर्फ विजेताले ४० हजार, उपविजेताले २५ हजार, तृतीयले २० हजार, जिल्लाभित्रका खुल्ला पुरुष जोडीतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडीतर्फ विजेताले २० हजार, उपविजेताले १५ हजार, तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा छात्र÷छात्रातर्फको अन्डर १५ को दुवैतर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र पुरुषतर्फको मिक्स डवल इभेन्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीयले १० हजार रुपैयाँ नगदका साथ ट्राफि र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्र्तगत मुख्यमन्त्री बहादुर सिंह लामातामाङ, उहाँका सल्लाहकार विनोद शाह तथा पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेश र विदुर २ का वडाध्यक्ष दीपक कायस्थवीचको खेलमा मुख्यमन्त्रिको जोडी विजयी भएको छ । प्रतियोगितामा ओलम्पिक खेलाडिको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको बागमती प्रदेश खेलकुद परिषद र विदुर नगरपालिका संरक्षक र नुवाकोट जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्