पालिका स्तरीय फुटबलको उपाधि रामपुर नगरपालिकालाई

पाल्पा- पाल्पामा भएको पालिका स्तरीय फुटबल प्रतियोगिता २०८२ को उपाधि रामपुर नगरपालिकाले जितेको छ ।
माथा गढीको सराई मा भएको फाइनल खेलमा आयोजक माथा गढी गाउँपालिकाको समूह ए लाई पराजित गर्दै रामपुर नगरपालिकाले प्रतियोगिताको उपाधि जितेको हो । रामपुर नगरपालिकाले आयोजक समूहलाई १–० गोल अन्तरले हराएको छ । रामपुर नगरपालिकाका खेलाडी गौरव क्षेत्रीले प्रहार गरेको बल गोलमा परिणत भए सँगै उक्त गोल खेलको निर्णायक गोल बन्न पुग्यो । उपाधि विजेता बने सँगै रामपुर नगरपालिकाले नगद १ लाख रुपैयाँ सहित ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता माथा गढी गाउँपालिकाले ७५ हजारमा चित्त बुझाएको छ । ६ समूहको सहभागिता रहेको पालिका स्तरीय प्रतियोगितामा तिनाउ गाउँपालिका तृतीय भएको छ । यस सँगै तिनाउ गाउँपालिकाले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
माथा गढी गाउँपालिकाको आयोजनामा गत शुक्रवार देखि सराई खेल मैदानमा भएको फुटबल प्रतियोगिताको पुरस्कार वितरण सहित समापन गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्