दुर्गम गाउँमा निःशुल्क स्वास्थ्य शिविर, ४ सय भन्दा बढीले लिए सेवा

दाङ-  जिल्लाकै अति दुर्गम मानिने बंगलाचुली गाउँपालिका–७ जबर कोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गणतन्त्र दिवसको अवसरमा नेपाल तरुण दल बंगलाचुली गाउँपालिकाले आयोजना गरेको शिविरबाट ४ सय बढीले सेवा लिएका छन् । आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा भएका कारण खुट्टा दुख्ने समस्याले थलिएका ७६ वर्षका टिकाराम नेपाली गाउँमै भएको स्वास्थ्य शिविरले ठुलो राहत महसुस गरेको बताउनुभयो । ‘उपचार गराउन जाँदा धेरै खर्च हुन्छ’ नेपालीले भन्नुभयो ‘त्यसमा पनि अस्पताल नजिक छैन,’ ‘गाउँमै निःशुल्क उपचार र औषधि पाउँदा म धेरै खुसी छु’ नेपालीले भन्नुभयो । उहाँ जस्तै बंगलाचुली–७ जबरकोट, बिर्खे, लगायतका गाउँमा चार सय १३ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । जसमा दुई सय ७१ जना महिला र एक सय ६३ जना पुरुष रहेको आयोजकले जनाएको छ ।

शिविरमा पेट, खुट्टा, टाउको दुख्ने समस्यासँगै आँखासम्बन्धी समस्या, चोटपटक लागेका र प्रजनन स्वास्थ्यसम्बन्धी परीक्षणसँगै निःशुल्क रूपमा औषधी वितरण गरिएको थियो । साथै गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि विशेषज्ञ डक्टरमा गएर चेकजाँच गराउनका लागि सल्लाह दिइएको छ ।

जिल्लाकै दुर्गम गाउँपालिका त्यसमा पनि गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँ जबर कोटमा विपन्न, दलित तथा गरिबहरूको वर्षादेखिको समस्यालाई मध्यनजर गरेर स्वास्थ्य शिविरको आयोजना गरेको नेपाल तरुण दल बंगलाचुली गाउँपालिकाका अध्यक्ष खुम सोती मगरले बताउनुभयो । ‘हामीले विभिन्न व्यक्ति र शुभचिन्तकसँग सहयोग सङ्कलन गरी यो शिविर सञ्चालन गरेका हौँ’ उहाँले भन्नुभयो ‘यो ठाउँमा यस्तो कार्यक्रम गर्न निकै चुनौती थियो तर पनि हामीले शिविरलाई सम्पन्न गर्न सफल भएका छौँ ।’ शिविरमा सिद्धार्थ पोलिक्लिनिकका फिजिसियन डा. वाचस्पति सुवेदी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन डा. सरोज यादव, प्रतिष्ठानकै स्त्री रोग विशेषज्ञ डा. अमृता श्रेष्ठ, ल्याब यमकला गिरी, नर्स भुमा शर्माले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.