चितवन राष्ट्रिय निकुञ्जमा एक दिने चरा अवलोकन कार्यक्रम सम्पन्न

चितवन – मेघौली घाट गाई नेचर गाइड सङ्घको आयोजनामा सुरुङ खोला, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक दिने चरा अवलोकन (Birdwatching) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १० जना चरा प्रेमी गाइडहरू र मेघौली चेकपोस्टका एक जना गेम स्काउट समेत सहभागी थिए।
कार्यक्रम बिहान ७:१० बजे मेघौलीको सेराइ लज नजिकैको राप्ती नदी किनारबाट सुरु भएको थियो। समयको बचत गर्न पहिले जिप सफारीको सहारा लिइएको थियो। जिपले टाइगर टप्स जङ्गल लज नजिकै यात्रुहरूलाई झारेपछि गाइडहरुले पैदल यात्रा गर्दै सुरुङ खोला, ढाक्रे खोला, कान्छी खोला हुँदै प्राकृतिक नुन (नुनिलो माटो) क्षेत्रको अवलोकन गरेका थिए। अवलोकनपछि जिपले सबैलाई उठाएर साँझ ४:३० बजे पुनः राप्ती नदी किनारमा ल्याई छाडेको थियो।
कार्यक्रमको नेतृत्व मेघौली घाट गाई नेचर गाइडका अध्यक्ष मनिष कुमार लिम्बु र हठन चौधरी ( अध्यक्ष नेपाली पक्षी अध्ययन संघ )ले गर्नुभएको थियो ।
उक्त भ्रमणमा १२१ प्रजातिका ७५२ वटा चरा तथा ९ प्रजातिका ६८ वटा स्तनधारी जनावरहरूको अवलोकन गरिएको छ।
विश्वव्यापी सङ्कटग्रस्त सूचिमा रहेका चराहरू मध्ये
- राज लाहंचे (Great Slaty Woodpecker – Mulleripicus pulverulentus),
- राज धनेश (Great Hornbill – Buceros bicornis),
- झाँक्री घाँसे फिस्टो (Grey-crowned Prinia – Prinia cinereocapilla)
देखिएको थियो। साथै नेपालमा दुर्लभ मानिएको रड्डी किङफिसर (Ruddy Kingfisher – Halcyon coromanda) समेत टाइगर टप्स नजिकको सुक्खा खोल्सामा देखिएको थियो। स्तनधारी प्रजातिहरूमध्ये एक सिङे गैँडा (Great One-horned Rhino) लाई मात्र IUCN द्वारा विश्वव्यापी सङ्कटग्रस्तको रूपमा सूचीकृत गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्