बिपी राजमार्गमा यात्रुलाई सहज बनाउने निर्णय

काभ्रेपलान्चोक- बिपी राजमार्गमा यात्रुलाई सहज बनाउने विषयमा काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्लाबिच अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।
बैठकमा राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने समस्या, उद्धारमा देखिने कठिनाइ र सडक सुचारु गर्न देखिने चुनौतीबारे ३ वटै जिल्लाका सुरक्षा निकाय तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिहरूबिच गहिरो छलफल भएको थियो। सुरक्षा अधिकारीहरूका अनुसार, यस्तो समस्या समाधानका लागि अन्तर जिल्ला समन्वय र सहकार्य अपरिहार्य रहेको बताइएको छ। वर्षा याममा जोखिम न्यूनीकरणका लागि बैठकले विशेष निर्णय समेत लिएको छ।
रातको समयमा हुने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै अबदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रु बाहक सवारी साधन सञ्चालनमा रोक लगाइने काभ्रे जिल्ला प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । यो निर्णय सिन्धुली, काभ्रे र रामेछापलाई जोड्ने बिपी राजमार्गका खण्डहरूमा लागू गरिने छ, जसले यात्रु सुरक्षालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। सम्बन्धित निकायहरूले यात्रुहरूलाई समयमै जानकारी गराइने व्यवस्था मिलाउने, आवश्यक परेमा वैकल्पिक मार्गको व्यवस्था तथा आपत्कालीन उद्धार टोली तयारी अवस्थामा राखिने निर्णय समेत बैठकमा गरिएका छन्।






प्रतिक्रिया राख्नुहोस्