श्रमदान कार्यमा जोडिँदै बर्दघाट नगर सरकार

पश्चिम नवलपरासी- पश्चिम नवलपरासी जिल्लाका सामुदायिक वनक्षेत्रहरुमा पर्या–पर्यटन पार्कहरू बन्ने क्रम बढ्न थालेको छ । लुम्बिनी प्रदेश सरकार,स्थानीय सरकार र जिल्लाका सामुदायिक वन समूह तथा सामाजिक सङ्घ संस्थाहरूले समेत पर्या–पर्यटन प्रवर्द्धनमा लगानी र श्रमदान गर्न सुरु गरेपछि ठाउँ–ठाउँमा पार्क बन्ने क्रम बढेर गएको छ ।
कतिपय स्थानहरूमा स्थानियवासीहरुले स्वतस्फ्रुत रूपमा श्रमदान गरेर नै पार्क बनाउने अभियान सुरु गरेका छन् । बर्दघाटका दुई छुट्टा –छुट्टै स्थानमा स्थानियवासीहरुले स्वतस्फ्रुत रूपमा श्रमदान गरेर बर्दघाट हिल पार्क र बर्दघाट श्रम पार्क निर्माण अभियानलाई अघि बढाएका छन् ।
स्थानीयवासीले सुरु गरेको श्रमदान कार्यलाई निरन्तरता दिन पछिल्लो समय बर्दघाटका व्यावसायिक प्रतिष्ठान तथा सामाजिक सङ्घ संस्थाहरू देखि बर्दघाट नगर सरकार समेत श्रमदान अभियानमा जोडिएको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको भनाइ छ ।
बर्दघाट नगर सरकारको अनुरोधमा श्रमदानमा जुटेकाहरूले सामाजिक कार्यमा श्रमदान निक्कै महत्त्वपूर्ण रहने भएकाले नगरको विकासमा नयाँपन आउने सम्भावना देखिएको बताउनुभयो ।
श्रमदान गरेर बनाइएका संरचनाहरूमा सबैको अपनत्व रहने भएकाले श्रमदान निक्कै प्रभावकारी हुने नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको भनाई छ ।
पारिजात सामुदायिक वन उपभोक्ता समूहले हैसियत बिग्रेको वन क्षेत्रलाई पर्या–पर्यटन पार्क को रूपमा विकास गर्ने योजना लिएर सुरु गरेको पार्क क्षेत्रमा बर्दघाट नगर सरकारको आग्रहमा नगरवासीहरू श्रमदानमा जुटेको समूहका अध्यक्ष कमानसिंह थापाले बताउनु भएको छ ।
९९ हेक्टर क्षेत्रफलमा करिब २ करोड रुपैयाँ खर्च गरेर लुम्बिनी प्रदेश कै नमुना पर्या–पर्यटन पार्क बनाउने लक्ष्य लिएको पारिजात सामुदायिक वन उपभोक्ता समूहले अहिले सम्म पार्क क्षेत्रमा जानका लागि ग्राभेल सडक निर्माण,खानेपानीको व्यवस्थापन,बिजुली बत्तीको व्यवस्थापन, तार जाली,पोखरी निमार्ण,महिला तथा पुरुषका लागि छुट्टा छुट्टै शौचालय निमार्ण गर्नुका साथै पिकनिकका लागि स्टल समेत निमार्ण गरी सकेको छ ।
क्षेत्रगत रूपमा र भौगोलिक हिसाबले समेत सबैको पायक पर्ने ,यातायातको सहज पहुँच भएका कारणले पनि लुम्बिनी प्रदेशको पूर्वीद्धारमा रहेको ,पहाडको काख र बजारको साथमा निमार्ण भइरहेको पर्या–पर्यटन पार्कले बर्दघाट नगरको आर्थिक समृद्धिमा समेत थप टेपा पुग्ने सम्भावना देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्