जलजलालाई ठेक्कामा लगाउदैं थबाङ गाउँपालिका

दाङ –  रोल्पाको थबाङ गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्ध स्थल जलजला क्षेत्रको व्यवस्थापन र सञ्चालनका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले हालै सार्वजनिक सूचना प्रकाशित गर्दै जलजला क्षेत्रमा दर्शन, पूजाआजा, तथा पर्यटकीय पूर्वाधार व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी सिलबन्दी दरभाउ पत्र (टेन्डर) आह्वान गरेको हो ।

जलजला थबाङ गाउँपालिका–३ मा अवस्थित एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । प्रत्येक वर्ष हजारौँ भक्तजन र पर्यटक यहाँ पुग्ने गर्दछन् । जलजला क्षेत्र रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाको सङ्गम स्थल पनि हो । यहाँ वैशाख जेठ र साउने पूर्णिमामा विशेष पूजा गर्ने गरिन्छ । तर, आवश्यक पूर्वाधार, व्यवस्थापन, तथा सेवा सुविधा अभावका कारण सम्भावना अनुसारको विकास र लाभ लिन सकिएको छैन । यही पृष्ठभूमिमा गाउँपालिकाले निजी साझेदारीको माध्यमबाट जलजलाको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको सूचनामा उल्लेख भएअनुसार इच्छुक संस्था वा व्यक्तिहरूले मिति तोकिएको अवधिभित्र दरभाउ पत्र पेस गर्न सक्नेछन् । ठेक्काको दायरामा दर्शन व्यवस्थापन, सरसफाइ, पर्यटक सूचना सेवा, तथा मन्दिर क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण र सञ्चालन कार्यहरू समावेश छन्। ठेक्का अवधि र आर्थिक प्रस्तावको मूल्याङ्कनपछि योग्य ठेकेदार छनोट गरिने जनाइएको छ।
जलजलाको संरक्षण, प्रवर्द्धन र स्थानीय आम्दानी वृद्धिका लागि यो कदम चालेको गाउँपालिकाले जनाएको छ । स्थानीयवासी तथा धार्मिक सङ्घसंस्थाहरू भने यस निर्णयमा मिसिएको पारदर्शिता, धार्मिक आस्थासँग सम्बन्धित क्षेत्रलाई व्यावसायिक बनाउने खतरा र लाभ बाँडफाँडको विषयमा चासो व्यक्त गरेका छन् ।

यसैबिच, सामाजिक सञ्जालमा उक्त निर्णयले विवाद र बहस उत्पन्न गरिरहेको छ । कतिपयले यसको स्वागत गरेका छन् भने कतिपयले धार्मिक स्थललाई ठेक्कामा दिनु अनुचित भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.