दाङमा मह प्रशोधन उद्योग स्थापना

दाङ- गुणस्तरीय मह उत्पादन र बजारीकरण गर्ने उद्देश्यले दाङमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी जोन दाङले घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा उद्योग स्थापना गरेको हो ।
किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जम्मा २० लाख ५९ हजार रुपैयाँको लगानीमा उद्योग स्थापना गरिएको हो ।
उद्योग स्थापना भएपछि गुणस्तरीय मह उत्पादन गर्न सजिलो भएको डाँडागाउँका किसान भिमकान्त देवकोटाले बताउनुभयो ।
उद्योग स्थापना पश्चात दाङका मौरीपालक किसानलाई बजारसम्म पुग्ने अवसर र मुल्य अभिवृद्धिमा सहयोग पुगेको छ ।
परियोजनाले दाङको घोराही, तुलसीपुर र बंगलाचुली क्षेत्रका १ सय ६७ वटा मौरीपालन समुह, सहकारी र फर्महरूलाई विभिन्न अनुदान उपलब्ध गराउँदै आएको परियोजना कार्यान्वयन एकाइ दाङकी सूचना अधिकारी चन्द्र शोभा कँडेलले जानकारी दिनुभयो ।
कँडेलका अनुसार अनुदानमा मह प्रशोधन उपकरण, तालिम, भण्डारण ट्याङ्क, प्याकेजिङ सामाग्री, तथा अवलोकन भ्रमणसमेत समावेश गरिएको छ ।
परियोजनाले मौरीपालन व्यवसायलाई आत्मनिर्भर र व्यवसायिक बनाउँदै किसानको आय वृद्धि गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।
मह उत्पादनका लागि उर्वरभूमि मानिने दाङ जिल्लाबाट वार्षिक ६ सय ३० मेट्रिक टन मह उत्पादन हुँदै आएको छ ।।
प्रतिक्रिया राख्नुहोस्