एशियाली साइकलिङ प्रमुख डाटो’ अमर्जित सिंह गिल नेपालमा

काठमाडौँ- एशियाली साइकलिङ महासंघका अध्यक्ष तथा युसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो’ अमर्जित सिंह गिल नेपाल साइकलिङ संघको निम्तोमा नेपाल आउनुभएको छ।

गिलले नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्र श्रेष्ठ, उपाध्यक्ष सुनील श्रेष्ठ, राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) का संस्थापक संयोजक डा. अशिम भण्डारी, सदस्य डा. सुधिर श्रेष्ठसहितका प्रमुख खेल अधिकारीहरूसँग भेट गर्नुभएको छ ।

शिष्टाचार भ्रमणका क्रममा खेल अधिकारीहरूले गिललाई नेपालको खेल क्षेत्रमा देखिएको बढ्दो राजनीतिक प्रभाव, निष्पक्ष निर्वाचन रोक्ने रणनीति र शक्ति केन्द्रित गर्ने प्रवृत्तिबारे जानकारी गराएका थिए ।

एनओसीको कानुनमा गरिएको दुई कार्यकाल सीमितता सम्बन्धी व्यवस्थाबारे सबैभन्दा बढी आलोचना भएको थियो ।

यसले पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानलाई पुनः उम्मेदवारी दिनबाट रोकेको छ। यो प्रावधान वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको राजनीतिक लाभका लागि नै समावेश गरिएको आरोप लगाएको छ । यो नियम राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत ल्याइएको हो, जुन श्रेष्ठ स्वयंले राष्ट्रिय खेलकुद परिषद् (एनएससी) को सदस्य सचिव हुँदा अगाडि सारेका थिए ।

नेपाल पौडी संघका ३२ मध्ये ३० मतदाताले जगत समूहलाई समर्थन गरे पनि ओसीए र एशियाली पौडी संघले अल्पमतमा रहेका मोहम्मद हुसेन मुसलमान नेतृत्वको समूहलाई मान्यता दिए । यस कदमलाई धेरैले “लोकतन्त्रको घात” भनेका छन्।

साइकलिङ पनि त्यही नियतिमा फस्यो।

२०२२ मा गोपालको नेतृत्वमा एक तदर्थ समिति गठन गरिएपछि निर्वाचन भएको छैन । पछि एनएससीले हस्तक्षेप गर्दै एक अन्तरिम समिति बनायो । यस्तै अवस्था ब्याडमिन्टन, टेनिस, जिम्नास्टिक, तौलउठाउने र ह्याण्डबल संघमा पनि देखिएको छ ।

एनओसी निर्वाचनअघि पाँच संघले संविधान संसोधन रोक्न सर्वोच्च अदालतमा मुद्दा दायर गरे। अदालतले आदेश पनि जारी गर्‍यो। एनएससी र सञ्चारमाध्यमले सार्वजनिक रूपमा जानकारीसमेत दिए। तर एनओसीले अदालतको आदेश बेवास्ता गर्दै साधारण सभा सञ्चालन भयो ।

त्यसैको आधारमा गरिएको निर्वाचनलाई पछि एनएससीको बोर्ड, युवा तथा खेलकुद मन्त्रालय र अदालतले “गैरवैधानिक” भने। तर ओसीएले अझै पनि जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीलाई मान्यता दिँदै आएको छ।

यस अवस्थाले खेल क्षेत्रमा गहिरो निराशा र आक्रोश जन्माएको छ। बैठकमा सहभागी एक अधिकारीले प्रश्न उठाउँदै भने, “कहिले नेपालले यो चलखेलको चक्रबाट मुक्ति पाउने? कहिले खेल नेतृत्व क्षमता र लोकतन्त्रको भरमा चल्ने?”

गिलले नेपालजस्तो मुलुकमा यति गहिरो संकट हुने अपेक्षा नगरेको बताउनुभयो।

खेलाडी र संघहरूलाई यस्ता राजनीतिक खेलहरूको सिकार हुन दिनु ओलम्पिक स्प्रिटको अपमान भएको उहाँको भनाइ थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.