गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गिरिजाप्रसाद कोइराला क्रान्तिको पनि र शान्तिको पनि नेता भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने सामथ्र्य राखेर गिरिजाप्रसादले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियालाई अगाडि बढाउने र गणतन्त्र स्थापन गर्ने पछिल्लो कालखण्डको महत्त्वपूर्ण तीन राजनीतिक परिघटनालाई नेतृत्व लिएको स्पष्ट पार्नुभयो ।
जीवनको उत्तरार्द्धमा गिरिजाप्रसाद कोइराला नेताबाट राजनेताको स्थान प्राप्त गर्न सफल हुनुभयोे जो, हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत रहिरहनुभएको राष्ट्रपति पौडेलले भनाइ थियो ।
उहाँले आफ्नो निर्णयमा जस्तोसुकै जोखिम मोल्ने आँट राख्ने कोइरालामा आत्मविश्वास अजेय भएको बताउनुभयो ।
काममा नथाक्ने र साथीहरूलाई अगाडि बढ्न प्रेरित गर्ने कोइरालाको बानी राष्ट्रपति पौडेलले स्मरण गर्नुभयो ।
राष्ट्रपति पौडेलले शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट मात्र हामीले राखेको मुलुकको समृद्धिको लक्ष्य पूरा हुने बताउनुभयो ।
उहाँले जनताले आफैँले बनाएको संविधान पाएको र जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट भएको स्पष्ट पार्नुभयो ।
उहाँले आर्थिक विकासको मोडेलमा दार्शनिक मतभिन्नता रहँदारहँदै पनि पुँजीवादी र कम्युनिष्ट चिन्तनबीच मध्यमार्गी धार समाएर गिरिजाप्रसदको कार्यकालमा आर्थिक विकासको मोडेलले संसारभर विभिन्न नकारात्मक आर्थिक झड्का आउँदा पनि नेपालको अर्थतन्त्र केही हदसम्म जोगिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र राजनीतिक दलहरूले जनताको सेवाका लागि विश्वास र भरोसा बढाउन केन्द्रित हुनुपर्ने बताउनुभयो । साथै उहाँले अहिले प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै सबैको अपनत्व बढाएर जनताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व गिरिजाप्रसाद कोइराला सबैले मानेका अविभावक भएकामा सबैको सहमति रहेको उल्लेख गर्नुभयो । उहाँले शान्ति प्रक्रियापछिका घटनाले स्व कोइराला परिपक्वता बढाएर देश र जनताको सेवामा नेतृत्व गर्ने सामथ्र्य बढाएको नेता हुनुभएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्व कोइराला दृढ इच्छाशक्ति, क्रियाशीलता र सक्रियता भएका नेता रहनुभएको बताउँदै उहाँका योगदानको चर्चा गर्नुभयो । त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समानता र समावेशितासहितको लोकतन्त्रलाई अघि बढाउन स्व कोइरालाको योगदान रहेको भन्दै प्रसंशा गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू महेश आचार्य र सुजाता कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको अतुलनीय योगदान चर्चा गर्नुभयो ।।
प्रतिक्रिया राख्नुहोस्