कागती खेतीबाट राम्रो आम्दानी गर्दै रामेछापका किसानहरू

रामेछाप – केही वर्ष अगाडि सम्म आफूलाई खान मात्र कागतीको निर्वाहमुखी खेती गर्दै आएका रामेछाप जिल्लाका किसानहरू अहिले व्यबसायीक कागती खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
जिल्लाका विभिन्न गाउँहरूका किसानहरू अहिले कागतीको व्यबसायीक खेतीमा जुटेका हुन् । कागतीबाट राम्रो आम्दानी हुने थाहा पाएपछि आफूहरू यस खेतीतर्फ आकर्षित भएर व्यवसायीक रुपमा खेती सुरु गरेको मन्थली नगरपालिका वडा नं ५ का किसान हिरालाल आचार्यले बताउनु भयो । उहाँले मन्थली बजार नजिकैको सुकाजोर खोलाको बगर भाडामा लिएर अहिले कागतीले हरियाली बनाउनु भएको छ ।
बिरुवा लगाएको छोटो समयमा नै उत्पादन दिएर राम्रो कमाइ हुने भएपछि किसानहरू यस खेतीतर्फ आकर्षित भएका हुन् । विदेशमा हुने कमाइ आफ्नै घरमा बसेर कमाउन सकिने भएकाले कागतीको व्यबसायीक खेती गरेको कृषक आचार्य बताउनु हुन्छ । उहाँले यस वर्ष मात्र कागतीबाट ४ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने बताउनु भयो ।
लटरम्म फलेको कागतीको बिरुवाले आफूलाई यस खेतीमा लाग्न प्रेरणा दिएको बताउने आचार्य अहिले रामेछाप जिल्ला भित्र मात्र होइन देशका विभिन्न सहरहरूमा आफूले उत्पादन गरेको कागती पुग्ने बताउनु हुन्छ । रामेछाप जिल्लाका उच्च पहाडी क्षेत्रका अतिरिक्त बेँसीका फाँटहरूमा पनि अहिले व्यबसायीक कागती खेती हुन थालेको छ ।
यस अगाडि रामेछाप जिल्लामा तराइ तथा भारतबाट कागती आयात हुने गरेको थियो । तर पछिल्लो २ वर्षदेखि जिल्लाको उत्पादन विभिन्न बजारहरूमा पुग्ने गरेको छ । जिल्लामा उत्पादन भएको कागतीले यहाँ मात्र बजार पाउन छाडेपछि अन्यत्र समेत लगेर बिक्री गर्न थालेको कृषकहरू बताउँछन् ।






प्रतिक्रिया राख्नुहोस्