भगवान ब्रम्हा,विष्णु र महेश्वरको आपत्कालीन बैठक

 

एक रात ब्रम्हाजीले एकदम नराम्रो सपना देख्नु भएछ । स्वर्गलोकको हालखबर ठिक भएको कुरा त उहाँलाई विदितनै थियो । किनकि त्यहाँका राजा इन्द्र संग निरन्तर सम्पर्क भैरहेको थियो  । तर लामो समयदेखि नर्कलोकका राजा यमराज संग सम्पर्क हुन सकेको थिएन । त्यहाँ जाने मौका पनि मिलेको थिएन । त्यसैले त्यहाँको बारेमा अनभिज्ञ हुनुहुथ्यो । त्यसैले एकदिन नर्कलोकको स्थिति बुझ्न आफ्नो पुष्पक विमान लिएर त्यतातिरको यात्रामा निस्किनु भएछ । यसरी जादैगर्दा बाटोमा अनेकन दृष्य परिदृष्य हेर्दै नर्कमा पुग्नुभएछ । त्यहाँको वस्तु स्थिति देख्दा बडो अचम्म लागेछ । जनसंख्याको चाप यति धेरै बढेछ कि भिडभाडमा उभिइरहेका मान्छेहरू एक अर्कामा टाँस्सिएर निदाउँदा रहेछन् । खानाको अभाव , पानी , बत्तिको अभाव नर्कलाकको अवस्था त एकदम अस्तव्यस्त रहेछ ।

यस्तो अवस्था देखेपछि ब्रह्माले यमराजलाई बोलाएर सोध्नु भएछ, यहाँको अवस्था यस्तो किन ? यमराजले भन्नु भएछ ” आजकल यहाँ आउने मान्छेहरूको चाप ज्यादै बढ्यो । नयाँनयाँ खाले अपराधीक स्वभावका मान्छेहरू आउन थाले । हामीलाई नियन्त्रण गर्न कठिन भयो प्रभू । यो कुरा सुनेपछि बडो चिन्तित हुँदै चित्र गुप्ता लाई सम्पर्क गर्नु भयो  र एक बर्षभित्र मृत्युवरण गरेका मान्छेहरूको बिबरण पठाउनुस । चित्र गुप्ताले तुरुन्तै पठाइदिनु भयो  । मर्नेहरूको संख्या र प्रकृति देखेर ब्रम्हाजीलाई अचम्म लागेछ।  पृथ्वीलोकमा किन र कसरी यस्तो आतंक मच्चिएछ आफै गएर बुझ्नु पर्ने भयो भन्ने लागेछ । त्यसैले ब्रम्हाजी तुरुन्तै आफ्नो पुष्पक विमानमा त्यसतर्फ उडीहाल्नु भयो ।

जब नर्कलोकको बोर्डर काटेर पृथ्वीलोकको भूमिमा प्रवेश गर्नुभयो उहाँको ओकेटोकेमा आवाज आयो भन्दै थियो कि ! ” म विश्व हवाई कन्ट्रोलको केन्द्रीय कार्यालयबाट बोलेको, तपाईं को हो ? कहाँ जान लागेको ? किन जान लागेको ? कति बस्नु हुन्छ ? कुन कुन देश जानु हुन्छ ? सबै देशमा प्रवेश शुल्क तिरेर भिसा लिनु पर्ने हुन्छ “।

ब्रम्हाजीले मनमनै सोच्नु भयो “ हामीले निशुल्क उपहार दिएको यो सुन्दर पृथ्वीमा त अचेल विभिन्न देश बनेछन् । त्यहाँ जान भिसा लिनु पर्ने ? त्यो पनि पैसा तिरेर ? हामीले मानवलाइ निशुल्क दिएको उपहारमा पस्नका लागि पैसा तिर्नु पर्ने ? कसले बनाएका रहेछन् यो नियम ”? अचम्म मान्दै कन्टोलरलाई सोध्नु भयो “ कति लाग्छ प्रवेश शुल्क ?” जवाफमा, फरक देशको फरक फरक प्रवेश शुल्क छ । हामीलाई पूर्ण विवरण पठाउनु होस् । म लिष्ट पठाइ दिन्छु ।

“ठिक छ म विवरण पठाउछु । म यो ब्रम्हाण्डको सृष्टिकर्ता  हुँ । मेरो नाम ब्रम्हा हो  । पृथ्वीको हालचाल बुझाकालागि आएको हु । म कुन- कुन देश जान्छु भन्ने अहिले नै निश्चय भएको छैन । यो पृथ्वीको वस्तुस्थिती बुझ्न मलाई कति दिन लाग्छ भन्ने पनि अहिले मलाई थाहा छैन । म क्रेडिट कार्ड नम्बर दिन्छु । मलाई ट्र्याक त गर्नु नै हुन्छ होला ? म फर्किने बेलामा के कति शुल्क तिर्नु पर्ने हुन्छ एकमुष्ठ त्यो कार्डबाट लिनुहोला” भन्नुभयो ब्रम्हाजीले ।

कन्ट्रोल अफिसरले आश्चर्य मान्दै सोधे “ स्वर्गमा पनि कार्ड चल्छ ? ” हो ,स्वर्गमा चल्छ I किनभने स्वर्गमा सबै असल मान्छेहरू मात्र बस्छन् । तर, नर्कमा चाहिँ अचेल चल्दैन । पहिला चल्थ्यो ?  हो, चल्थ्यो । तर पछि चल्न छोड्यो । किन नी ? त्यहाँ अचेल उनीहरूले धेरै बदमासी गर्न थाले । अचेल नयाँ नयाँ प्रकृतिका अपराध गर्न जानेका मान्छेहरू पृथ्वीबाट आउन थाले । हामीलाई धेरै सताउँन थाले । त्यसैले आजकल बन्द भएको ।  कन्टोलरले ए ! भन्दै कार्ड चेक गरेर यात्राको अनुमति दिए । तर, तपाईको विमान रडारले तोकेको भन्दा तल आउन मिल्ने छैन । किन ? भनि प्रश्न गर्नु भयो ब्रम्हाजीले ।

आजकल प्राय साधारण जहाजको भन्दा बढी उचाइमा फाइटर जेट तथा बम वार्डर प्लेनहरू उडिरहेका हुन्छन् । त्यो समयमा आकासको बाटो उपलब्ध नहुन सक्छ । तपाई अलि खराब समयमा पृथ्वीमा आउनुभएको छ । अलि सतर्क रहनु होला । तर, चिन्ता नगर्नुहोस् । तपाईँ एकदम खतरा क्षेत्रमा पुग्नु भयो भने हामी अलर्ट सिग्नल पठाउने छौ ।
यो सुनेर ब्रह्माजीलाई मनमा खुल्दुली भयो । कुन कुन देशमा बढी खतरा छ ? रुस र युक्रेन अनि प्यालेष्टाइन र इजरायलको क्षेत्रमा बढी खतरा छ । रुस र युक्रेनमा युद्ध चलीरहेको छ । ब्रम्हाजीले अचम्म मान्दै सोध्नु भयो “युक्रेन त्यति सानो र कमजोर देश रुस जस्तो ठुलो र शक्तिशाली देशसँग भिडिरहेको छ ? कसरी सम्भव भयो ? उक्साउने, भिडाउने, सहयोगको नाममा ढाड सेकाउनेहरूको कमि कहाँ छ र प्रभू ! यिनीहरू किन लडिरहेका छन् ? भनि ब्रम्हाजीले सोध्नु भयो  । पहिलो , क्रिमियामा रुस र युक्रेनको विवाद दोश्रो, युक्रेनले नेटोमा सामेल हुने इच्छा राख्नु । जुन आफ्नो सुरक्षामा खतरा ठानी रुसले उसलाई नेटोमा सामेल हुनदिन नचाहनु  ।

अनि अन्त ? इजरायल र प्यालेस्टाइन युद्ध । त्यो चाहिं किन नि ? जेरुसेलममा आ-आफ्नो अधिपत्य जमाउन खोज्नु । क-कसले ? यहुदी र इस्लामले । किन नि ? इजरायल र प्यालेष्टाइन दुबैले जेरुसेलमलाई आफ्नो राजधानी बनाउन चाहन्छन् । इजरायल भन्छ “जेरुसेलम २७०० बर्षदेखी हाम्रो हो । अर्थात हामी यहुदीको हो “ । प्यालेस्टाइन, सिरिया, टर्की, इरान जस्ता शक्तिशाली देशहरू भन्छन् “त्यो भन्दा ४०० वर्ष पहिलादेखिनै मुस्लिमहरूको सबै भन्दा शक्तिशाली साम्राज्यको एक हिस्सा थियो जेरुसेलम । त्यसैले यो भूमि हामी मुसलमानहरूको भूमि हो” ।

यहि विवाद बढ्दै गएर आज यो लडाइँले धार्मिक युद्धको रुप लिदैछ । त्यति सानो देश इजरायलले त्यति धेरै मुस्लिम देशहरूसँग लड्न कसरी सम्भव भयो ? अघिनै भनिसके साथ् दिए झैं गर्ने , उक्साउने र आफ्नो स्वार्थ पूर्ति गर्ने या हतियार बेचेर पैसा कमाउनेहरू भएका कारण सम्भव भयो । अर्को कुरा मुस्लिम धर्मका बिरोधिहरूको साथ पाउनुले पनि इजरायलको सहास बढेको हो । त्यसैले अलि सतर्कता अपनाउनु होला । रडारको निर्देशको पालना गर्नु होला ।

अर्को कुरा , विश्व पर्यटन केन्द्रीय कार्यालयमा सम्पर्क गराइदिन्छु । केहि जानकारी चाहिएमा कुनैपनि बेला, कुनै पनि क्षेत्रबाट त्यहाँ सम्पर्क गर्न सक्नु हुन्छ भने । धन्यबाद ! भन्दै ब्रह्माजीको पृथ्वीको यात्रा अगाडि बढ्यो । आफूसँग भएको बाइनो कुलरलाई जुम गर्दै हेर्न थाल्नु भयो । कतै चर्च , कतै मस्जित, कतै मन्दिर, कतै गुम्बा देख्नु भएछ। त्यहि जमिनमा अमेरिकन, अफ्रिकन, एसियन, अरबिक सबै समुहका मान्छेहरू देख्नु भएछ । सबै छासमिसे भएको ठाउँमा कतै हाम्रा सनातनीहरूले आफ्नो धर्म छोडेका त छैनन् भन्ने चिन्ता लागेछ ।

जी पी एसलाई स्क्रोल गरेर हेर्दा आफू संयुक्त राज्य अमेरिकाको आकासमा उडीरहेको कुरा थाहाभएछ । हामीले त सनातन सभ्यताको मात्र उत्पति गरेका थियौं । कहाँबाट आएछन् यी अरू धर्म र समूहहरू ? अचम्म लागेछ । यिनीहरू मृत्यु पश्चात काहाँ जान्छन होला भन्ने चासो भएछ । गूगल सर्च गर्नु भएछ । क्रिस्चियनहरू सनातनीहरू जस्तै हेवेन तथा हेलमा जाँदा रहेछन् भने मुस्लिमहरू जन्नत तथा जम्हममा जाँदा रहेछन् ।

मान्छेहरू मरे पछि हाम्रै स्वर्ग या नर्कमा मात्र जान्छन् भन्ने लागेको थियो । होइन कि क्या हो ? अन्त पनि त्यस्तो ठाउँ रहेछ ? यिनै युद्धमा पुरागाउँ अथवा पुरासहर ध्वस्त पारेका अपराधी या पापीहरू पनि हाम्रो नर्कमा पुगेछन् कि क्याहो ? चित्रगुप्ताले भनेका थिए “ आजकल नयाँ नयाँ प्रकृतिका अपराधिहरू यहाँ आएका छन्” भनेकाथिए यिनै हुँन् कि क्या हो ? चिन्ता बढ्यो ब्रह्माजीलाई ।

मनमा कुरा खेल्दै थियो विमान अगाडी बढ्यो । साना, गठिला , चिटिक्क परेका फुर्तिला मान्छेहरू हस्याङफस्याङ गर्दै हिडेका व्यस्त मान्छेहरू देख्नु भयो । धेरै मेहनती जस्ता देखिन्छन् । यी मान्छेहरू मृत्यू पछी केहि नसोधी हाम्रो स्वर्गलोकमा जान दिए हुन्छ भन्ने लागेछ । कुन देशका रहेछन् भनि जीपीएस चेक गर्दा आफू चिन, जापान, कोरिया ताइवानको आकासमा भएको थाहा भएछ ।

एकैछिनमा कतै हतियार बनाउदै धमाधम गोदाममा राख्दै गरेको देख्नु भएछ । कुनै शक्तिशाली देशले उकासेको भरमा रुससँग निहुँ खोजेपछि युक्रेनलाई ध्वस्त पार्न ब्यस्त रुसको आकासमा भएको थाहा भएछ ।

विमान युक्रेन र रुसको युद्धले धमिलिएको बादल पार गर्दै थियो । केही दिन पहिला अमेरिकाले र पछि इजरायलले क्षतिग्रस्त पारेको भनिएको इरानको आणविक भट्टीमाथिबाट नियाल्दै हिड्नु भएछ । इजरायल र प्यालेष्टाइनको युद्धमा इरानले प्यालेष्टाइनलाई सहयोग गरिरहेको छ । उक्त क्रममा इरानले परमाणु हतियार प्रयोग गर्न सक्छ भन्ने डरले परमाणु बमको भण्डार ध्वस्त पारेका होलान् भन्ने लाग्यो ।

हिजबुल्लाले अचानक इजरायल माथि आक्रमण गरे पछी इजरायलले जवाफी आक्रमण गर्यो । फलस्वरूप हमासलाई ध्वस्त पारिदियो । कारण जे भए पनि, जस्ले आक्रमण गरेका भए पनि ती अवोध सोझा सर्वासाधारण जनताको के गल्ति थियो ? आक्रमणको क्रममा खण्डहर बन्यो गाँजा । विस्थापित भएका सर्बसाधारण नागरिकको वासस्थान खोइ ? खाने कुरा खोइ ? बाँच र बाँच्न देउको सिद्धान्त खोइ ? मानव अधिकार खोइ ? बस्न सबैले पाउन भनेर हामीले यो सृष्टि गरेर छोडेका थियौं । तिमीहरू आपसमा मारामारी गर्नलाई थिएन भन्दै निदारमा हात राख्दै मानब जातिलाई धिक्कार्नु भयो ।

बिमान अगाडी बढ्दै थियो । मरुभूमिमा टिलिक्क टल्किने गाडी दौडिने सफा सडकहरू देखिए । गाडीबाट निस्किने सेतो थोव लगाएका पुरुष र कालो बुर्का लगाएका महिलाका जोडीहरू निस्केको देख्नुभयो । हेर्दा सबै सम्पन्न जस्ता देखिन्थे । जीपीएस हेरेर खाडी मुलुक साउदी , दुवई , कतार , बहराइन, यमन आदि भन्ने थाहा भयो ।

आकाशबाट हेर्दा कुनै कलकारखाना या खेतीबाली लगाएको नदेखे पछि यिनीहरू कसरी धनि भए होलान भन्ने लाग्छ । “ सेरी”लाई सोध्नु हुन्छ । पेट्रोल तथा डिजेल तेल बेचेको पैसाले सम्पन्न भएको जवाफ आयो । फेरी सोध्नु हुन्छ सेरीलाई । त्यो तेल कहाँबाट आउछ ? “जमिन मुनिबाट निकाल्छन्” सेरीले जवाफ दिन्छ । ब्रम्हालाई एकदम रिस उठ्छ । हामीले पृथ्वीमा बसेर सबैले बाँच्न पाउँन भनि यो सृष्टि गरेका थियौ । पृथ्वीलाई चुस्ने, रित्याउने र भत्काउने आदि जस्ता अपराध गर्नलाई होइन । यिनीहरूलाई त मरेपछि नर्कमै पठाउनु पर्ने हुन्छ ।

तत्पाश्चात उहाँको विमान दुबईको सिमाना कटेर भारत तर्फ प्रवेश गर्यो । उहाँको कर्डलेसमा अचानक मिठो भजनको धुन बज्यो । धुन सँगै प्रभु ! हजुरलाई यो सनातनी सभ्यताको हिमायती देश भारतमा स्वागत छ । उहाँ एकदम प्रसन्न हुनुभयो । यो सृष्टिको सुरुवात भएपछि मानव जगतको पहिलो सभ्यता नै सनातनी सभ्यता हो । आज यो सभ्यताको हिमायती देश देख्ने मौका मिल्यो भन्दै मन मनै दङ्ग पर्नुभयो ।

उहाँका आँखाले भगवान शिवजीको पिठ पशुपतिनाथ र कैलास पर्बत खोजीरहे । नदेखेपछि उहाँको बैनोकुलारको लेन्स बढाउंदै हेर्नु भयो । त्यहाँ त भगवान शिवजीका भाइ बाँकटेश्वर भगवान , स्वामी नारायण , पवनपुत्र हनुमानजीका मन्दिरहरू धेरै देख्नु भयो । कतै कतै देवीहरूका मन्दिरहरू भए पनि काली माँ , भोलेबाबाका मन्दिरहरू भने त्यती देखिएनन् । बरु भव्य भव्य चर्च र मस्जिदहरू प्रसस्तै देखिए ।

विश्व पर्यटनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नु भयो । यो कार्यालयले उहाँको सेवाको लागि जतिबेला पनि तयार हुने छौं भनि प्रतिबद्धता जनाएको थियो । त्यसैले तुरुन्त सम्पर्क भयो । उहाँले आफूलाई मनमा खट्केको कुरा सुनाउनु भयो । केन्द्रिय कायालयले तुरुन्तै दक्षिण एसिया विभागको कार्यालयमा जोडीदिए । प्रभू हजुरले हेर्न चाहनु भएको आराध्य भगवान श्रीपशुपतिनाथको मन्दिर र कालीमाँको मन्दिर नेपालमा पर्छ, भारतमा होइन । कैलास पर्बत चिनमा पर्छ । नेपाल चिन सिमानाको नजिक ।

भारत र भारत वर्षका बारेमा मलाई अलि प्रष्ट पारिदिनुहोस् न भनि ब्रम्हाजीले भन्नु भयो । धेरै वर्ष पहिला भारत, श्रीलंका , बंगलादेश, पाकिस्तान , भुटान, नेपाल सबै भारत वर्षमा गनिन्थे । अहिले सबै छुट्टा छुट्टै देश भएकाछन् ।” ए बल्ल बुझे । मलाई भारतमा स्वागत गरेका रहेछन् । भारत वर्षमा होइन रहेछ” भन्नुभयो ब्रम्हाजीले ।

नेपालको प्रसङ्ग निस्केपछि गुगल सर्च गर्न थाल्नु भएछ । करिब १४७००० वर्ग कि,मि क्षेत्रफलामा करिब ३ करोड जनसंख्या रहेको हिमाली देश । वेद ब्यास , पाणिनी ऋशि जस्ता महर्षिहरूको तपोभूमि । ३३ कोटी देवी देउताहरूको वासस्थान । अमृतमय जडिबुटी उब्जिने पबित्र माटो भएको भूमि । विश्वको सर्बोच्च सिखर सगरमाथा रहेको देश । विश्व शान्तिका दूत भगवान गौतम बुद्ध जन्मेको देश ।

यी विवरण गूगलबाट पाएपछि आफ्नो पुष्पक विमान त्यो भूमिमा अवतरण गर्ने तीव्र चाहना भयो । आफ्नो विमानलाई पशुपतिनाथ परिसरमा अबतरण गर्ने कोसिश गर्नुभयो । निकै घना वस्ति, मान्छेका लासहरू जलिरहेका धुवाँले जमिन राम्रोसँग नदेखिएको अवस्थाका कारण विमान उतार्न सक्नु भएन र सिधै मानसरोवरको कैलासमा जानु भयो । जहाँ भगवान शिवाजीले वास गर्नु भएको थियो ।

कैलासको जमिनमा पैतालाले छुने बित्तिकै अद्भुत खालको महसुश भयो । स्वर्गमा भन्दा पनि बढी आनन्दको अनुभूति गर्नु भयो । एक रात त्यहीँ ध्यान गरेर बस्नु भयो । त्यो पबित्र स्थानमा दिव्य ध्यानमा बस्दा उहाँको दिव्यदृष्टिले यो नेपाललाई बिगार्ने देश भित्रका हरेक नेता तथा व्यक्तिहरूको अनुहार एक एक गरि देख्नु भयो । मदन भण्डारी हत्याकाण्ड, राजदरवार हत्याकाण्ड, जेन्जी आन्दोलन आदि सबैको रहस्य थाहा भयो । देशभित्रका मात्रै नभएर नेपाललाई कुदृष्टि राख्ने विदेशी शक्तिहरूलाई पनि चिन्नु भयो ।

त्यतिमात्र कहाँ हो र ! यो पृथ्वी भरिका देशका खराव नेतृत्वकर्ताहरू सिनेमाको पर्दामा झैँ उहाँको मानस पटलमा एक एक गरी आउन थालेछन् । उहाँले सबैको तस्बिर दिमागमा सेभ गर्नु भयो । ताकी, अब उप्रान्त नर्कलोकको ढोकामा आफै बसेर यिनीहरूलाई छानी छानी कडा भन्दा कडा सजाय दिन सकियोस् ।

त्यहीबाट विष्णु र महेश्वरलाई सम्पर्क गर्नु भयो । हाम्रो अपर्झट बैठक बस्नु पर्ने भयो । हामीले सृष्टि गरेको यो सुन्दर पृथ्वीलाई दुरुपयोग गरेर केही अपराधिहरूले आ आफ्नो स्वार्थ पूर्ति गरेका रहेछन् । यस्ता अपराधीहरूलाई राख्न अहिले भएको नर्क भन्दा पनि अझ बढी कष्टकर छुट्टै ठाउँको व्यवस्था गर्नु पर्ने बेला भइसकेको रहेछ ।

अर्को एउटा अलि महत्वपूर्ण निर्णय पनि लिनु पर्ने बेला भैसकेको छ । “के होला प्रभू त्यस्तो” भगवान विष्णुले सोध्नु भयो ? नर्कलोकामा नयाँ नयाँ प्रकृतिका अपराधिक मनस्थितिका मान्छेहरूको बढ्दो चापको रहस्य बुझ्न म पृथ्वीमा आएको थिएँ । लहरो तान्दा पहरो गर्जियो । शक्तिशाली देशले निमुखा देशको भूभाग हडपी रहेका रहेछन् । सहजै हासिल गर्न नसके युद्ध गर्दा रहेछन् ।

युद्धमा अवोध बालबालिका र जनतालाई पनि सामुहिक हत्या गरिरहेका रहेछन् । कोहि बम बारुद र गोलि लागेर मरिरहेका रहेछन् । कोहि खाना र पानी नपाएर छट्पटिएर मरिरहेका रहेछन् । जनतालाई चरम दुख दिइरहेका रहेछन् । पापीहरूले हत्या, हिँसा, बलात्कार जस्ता जघन्य अपराधहरू भैरहेका रहेछन् । न्याय तिनै नेतृत्वको शक्तिबाट परिचालित हुँदोरहेछ । त्यसैले न्याय हराएको रहेछ, मानवता त झन् छंदैछैन । यिनीहरूको मृत्युपश्चात नर्कमा आउनु भन्दा पहिला नर्कलोकको क्षमता निकै ठुलो परिधिमा बढाउनु पर्ने देखिन्छ । जुन असम्भव छ ।

हामीले उपहार स्वरुप दिएको यो सुन्दर पृथ्वीलाई टुक्रा टुक्रा पारी १९५ देश बनाएछन् । कसले कित्ता काट गर्यो ?, कसले कतिमा बेच्यो ? अनि कसले किन्यो ? हामी सृष्टिकर्तालाई थाहा नै छैन । देशहरूको आपसी विवादमा उकासेर युद्ध गराउँदा रहेछन् । अनि युद्धकालागी चाहिने हात हतियार बेच्दा रहेछन् । शक्तिशाली देशले आफुलाई नभइनहुने जमिन थर्काएर हडप्दा रहेछन् । नदिए नाकाबन्दी जस्ता अनेक दुख दिने र त्यतिले पनि नमाने युद्ध नै गर्ने ।

यस्ता पापी मान्छेहरू मरे पछि पक्कै नर्कमा आउँछन । हामीलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ । त्यो भन्दा पहिलानै यो पृथ्वीलाई फर्म्याट गर्नु पर्ने भएकोछ । त्यसैले म फर्किने बित्तिकै एउटा अपर्झट बैठक बस्नु पर्छ । बैठकका प्रस्तावनाहरू निम्नानुसार हुनेछन् :
क ) मानवको दिमागलाई मात्रै फर्म्याट गर्ने जसमा प्रेम, सद्भाव सहयोग जस्ता सकारात्मक सोच मात्र आओस् । अहिले त मान्छेले प्रविधि बनाउछन पछि त्यहि प्रविधिमा मानव निर्भर हुन थालेछन् । विकासको नाममा मानव सभ्यतालाई नै असर गर्ने काममा दिमाग नचलोस् ।
ख ) अङ्गप्रत्याङ्ग सेन्सर लगाई दिने ता कि गलत कार्य गर्न नसकोस् ।
ग ) फर्म्याट गर्दा मानवलाई मात्र पृथ्वीबाट हटाइदिने ।
घ ) समस्त प्राणीलाई नै पृथ्वीबाट हटाइ दिने ।

यी बुदाहरूको बारेमा सोच्दै गर्न्नु होला । ताकी, हामीले अब खालि गरेको पृथ्वीमा हाम्रो बैठकले गरेको निर्णय अनुसारकालाई मात्र प्रवेश गराइनेछ । अनिमात्र हामीले सोचेजस्तो सुन्दर र शान्त पृथ्वी बन्नेछ । म पृथ्वीको सिमाना कट्ने वित्तिकै खबर गर्नेछु । तयारी अवस्थामा रहनु होला । विष्णु र महेश्वर दुवै भगवानहरूले एकै स्वरमा ब्रम्हाजीलाई हस् प्रभू भन्नु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.