मैकोटका प्रसव पिडाका बिरामीलाई हेलिकोप्टर द्वारा उद्धार

रुकुम पूर्व – मैकोटका प्रसव पिडाका बिरामीलाई हेलिकोप्टर द्वारा उद्धार । रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका १ मैकोटबाट प्रसव पिडा लागेको बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आज बिहान पौने १० बजे मैकोटका १५ बर्सिया प्रसव व्यथा लागेको बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
प्रसव पिडाले च्यापेपछि मङ्गलवार बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा बिरामीलाई पुर्याइएको थियो ।
स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल अवस्थाको भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले जानकारी दिनुभयो । बच्चा जन्मिने समय मङ्सिर महिना भए पनि एक महिना अघि नै सुत्केरी व्यथाले च्यापेपछि अवस्था जटिल बनेपछि उद्धार गरिएको विष्टले बताउनुभयो ।
बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षण देखा परिराखेको विष्टले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत मैकोट देखि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिनुभयो । उद्धारका लागि पहलकदमी र साथ सहयोग गर्नु हुने सबैलाई गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विकले धन्यवाद दिनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्