प्रतिनिधिसभा सदस्यमा काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ- काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित हुनु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय ५९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा(एमाले)का ईश्वर पोखरेलले चार हजार सात सय एक मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले एक हजार सात सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले एक हजार एक सय, श्रम संस्कृति पार्टीका अमित थापाले सात सय ११ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
नवनिर्वाचित सांसद पोखरेलले मतदाताले देखाएको विश्वासले आफूहरु अत्यन्तै कृतज्ञ भएको उल्लेख गर्दै यो परिणाम कुनै व्यक्तिगत विजय नभई यस क्षेत्रका नागरिकप्रतिको ठूलो जिम्मेवारी भएको बताउनुभयो । “आजबाट हाम्रो कर्तव्य अझ ठूलो भएको छ । वास्तविक विजय आज होइन । आगामी पाँच वर्षमा जनताको विश्वास जोगाएर, इमानदारीका साथ काम गरेर, परिवर्तनको परिणाम देखाउन सकेपछि मात्र हाम्रो विजय पूर्ण हुनेछ ” उहाँले भन्नुभयो ।
पोखरेल २०५२ साल फागुन १ काठमाडौंमा जन्मनु भएको हो । कानुन विषयमा काठमाडौं विश्वविद्यालयबाट स्नातक गर्नु भएका उहाँ हाल त्रिभुवन विश्व विद्यालयबाट स्नाकोत्तर गर्दै हुनुहुन्छ ।
विवेकशील साझाबाट सुरु भएको उहाँको राजनीतिक यात्राले छोटो समयमै संसद प्रवेश गराएको छ। सुरुवाती दिनमा साझा युवा संगठनका नेता तथा विवेकशील साझाका केन्द्रीय समितिका सदस्यसमेत बन्नु भएका पोखरेल अहिले भने रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ताको जिम्मेवारीमा रहनु भएको छ ।
२०७९ सालमा भएको स्थानीय चुनावमा सस्मित बालेन् शाहलाई काठमाडौं महानगरपालिकाको मेयर जिताउने अभियानमा सक्रिय भएर लाग्नु भएको हो । बालेन शाह मेयर भएपछि भने उहाँ काठमाडौं महानगरपालिकामा शिक्षा तथा सहायक विज्ञ तथा शहरी योजनामा सहायक विज्ञका रूपमा काम गर्नु भएको थियो ।
२०७९ सालमा उहाँले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं–५(क) प्रदेशसभा सदस्य चुनाव लडनु भएको थियो । २९ वर्षका पोखरेल डा.गोविन्द केसीको सत्याग्रह, गुठी आन्दोलनजस्ता सामाजिक मुद्दाहरूमा अग्रपंक्तिमा रहेर काम गरिसकेका व्यक्ति समेत हुन् ।






प्रतिक्रिया राख्नुहोस्