महोत्तरी-१ बाट रास्वपाका प्रमोदकुमार महतो विजयी

काठमाडौँ- महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी हुनुभएको छ ।

अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरीको गौशला नगरपालिका-८ का प्रमोदकुमार महतो ४० वर्षीय सामाजिक अभियन्ता हुनुहुन्छ।

उहाँ लामो समयदेखि समाज सेवामा सक्रिय रहँदै आउनु भएको छ।

विगत २० वर्षभन्दा बढी समयदेखि निरन्तर सामाजिक संघर्ष गर्दै भ्रष्टाचारविरुद्ध स्पष्ट अडान लिने र जनतासँग प्रत्यक्ष जोडिएको भूइँ तहको नेतृत्वका रूपमा उहाँ परिचित हुनुहुन्छ।

युवाहरूलाई कुलतबाट जोगाउने तथा उनीहरूको क्षमता विकासका लागि खेलकुद र विभिन्न रचनात्मक गतिविधि परिचालन गर्ने काममा पनि उहाँ सक्रिय रहनु भएको छ।

उहाँले भ्रष्टाचारमुक्त नगरपालिका अभियानमा करिब ७ वर्षसम्म सक्रिय भूमिका निर्वाह गर्दै पारदर्शिता र सुशासनका पक्षमा आवाज उठाउँदै आउनु भएको थियो ।

महतो नेपाली, मैथिली र थारू भाषामा पोख्त भएकाले समुदायका हरेक तहका मानिससँग सहज रूपमा संवाद गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। साथै, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका अधिकार सुनिश्चित गर्न निरन्तर काम गर्दै आउनु भएको छ।

स्वतन्त्र पृष्ठभूमिबाट सुरु भएको उहाँको राजनीतिक यात्रा अहिले संस्थागत एजेन्डासँग जोडिँदै अघि बढिरहेको छ।

भूमाफिया, संगठित अपराध तथा सामाजिक अन्यायविरुद्ध प्रत्यक्ष संघर्ष गर्दै सामाजिक न्यायका पक्षमा सक्रिय नेतृत्वका रूपमा स्थानीयले उहाँलाई चिन्ने गर्दछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.