सुनसरी-३ मा रास्वपाका अशोककुमार चौधरी निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी हुनुभएको छ । उहाँ ४७ हजार ४२१ मतसहित विजयी हुनुभएको हो ।
चौधरीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मतमात्र प्राप्त गर्नुभयो ।
०७९ सालको निर्वाचनमा रास्वपा बाटै समानुपातिकतर्फबाट सांसद बन्नु भएका चौधरीको यो दोस्रो संसदीय यात्रा हो । सुनसरीको इटहरी उपमहानगरपालिका–५ पचरुखीका ४२ वर्षीय चौधरीको प्रारम्भिक पहिचान खेलाडीका रूपमा रहेको थियो।
विश्वकै प्राचीन खेल डोरीतान अर्थात ‘टग अफ वार’ का अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नु भएको थियो।
सन २०१९ मा आयोजित १४औँ एसियन टग अफ वार च्याम्पियनसिपमा पनि उहाँले नेपालका तर्फबाट सहभागिता जनाउनु भएको थियो। हाल उहाँ नेपाल डोरीतान संघका सल्लाहकार हुनुका साथै उक्त खेलका राष्ट्रिय रेफ्रीसमेत रहनु भएको छ।
राजनीतिक यात्रातर्फ फर्कँदा, पहिलो पटक २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उहाँले सुनसरी–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्नु भएको थियो।
त्यसपछि उहाँ एकनाथ ढकालले नेतृत्व गरेको परिवार दल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनु भएको हो। सुशासन, पारदर्शिता र विकासमुखी राजनीति उहाँका मुख्य एजेन्डा रहेका छन्।।






प्रतिक्रिया राख्नुहोस्