चेपाङ पहिचान संरक्षण गर्दै स्थानीय तह पुनर्संरचनाको माग

मकवानपुर- चेपाङ समुदायको पहिचान संरक्षण हुनेगरी स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग गर्दै नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका संघका प्रतिनिधिहरूले चेपाङ बसोबास रहेका क्षेत्रलाई समेटेर नयाँ स्थानीय तह गठन गर्नुपर्ने तथा ती पालिकाहरूको नामकरण चेपाङ भाषामा गर्नुपर्ने माग अघि सारेका हुन् ।

संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङसहितको टोलीले ध्यानाकर्षण पत्रमार्फत चेपाङ बाहुल्य रहेको चितवन, धादिङ र मकवानपुर जिल्लाका वडाहरू समेटेर छुट्टाछुट्टै गाउँपालिका गठन गर्न प्रस्ताव गरेका छन् ।

प्रस्तावअनुसार चितवनको इच्छाकामना गाउँपालिका१ र २ नम्बर वडा, कालिका नगरपालिकाका वडा नम्बर १० र ११ तथा राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ लाई समेटेर “झोरालाङ गाउँपालिका” बनाउन माग गरिएको छ ।

त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई समेटेर “रोराङ गाउँपालिका” बनाउन संघले आग्रह गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य गाउँपालिका वा नगरपालिकामा गाभिने अवस्था आएमा हालको चेपाङ भाषामा रहेको नाम यथावत राख्नुपर्ने माग पनि गरिएको छ ।

यसका साथै नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा (५) बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाका चेपाङ बाहुल्य क्षेत्रमा “चेपाङ संरक्षित क्षेत्र” घोषणा गर्नुपर्ने माग राखिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वका अवसरमा बिदा दिँदै आएको उल्लेख गर्नुभयो ।

स्थानीय तहसँग समन्वय गरेर समुदायको हितमा प्रदेश सरकारले आवश्यक काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । २०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ ।

यसमध्ये करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन् । मकवानपुर जिल्लामा १९ हजार २ सय ३३ जना चेपाङको बसोबास रहेको तथ्याङ्क छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.