‘दाना नलाग्दै बाला सुक्न थाल्यो, भुसमात्र भएपनि थन्क्याउन त पर्‍यो’

धादिङ- नीलकण्ठ नगरपालिका–८ स्थित विर्ताबेसी फाँटका किसानहरू यतिबेला धमाधम धान काट्न व्यस्त छन्। धानमा बाला लागे पनि दाना नलागेपछि किसानहरू समयअघि नै बाली काट्न बाध्य भएका छन् ।

विर्ता फाँट मात्रै होइन नगरपालिकाको कोईराले, तल्लोवेशी, कुडुले,कुमालटारीलगाएत जिल्लाका अधिकांश धान खेती गरिएका फाँटहरुका हजारौँ रोपनी धान खेतीमा बाला सुक्ने रोगको महामारी नै फैलिएको छ  ।

असारे धान रोपेपछि समयमा नैँ रासायनिक मलको समस्या झेल्दै आएका धादिङका किसानहरुले यस वर्ष धान बाली नै भित्र्याउन पाएनन् ।

अहिले बेलै नभई किसानहरुले धान काट्न थालेका छन् । धानको बाला लागे पछि बाला सुक्ने रोगको महामारीले धादिङका अधिकांश धान बाली नष्ट भएको छ । बालामा चामल नै नभई भुस मात्रै लागेर धान सुक्न थालेको हो ।

असारे धानमा फैलिएको फङ्गसजन्य रोगका कारण हजारौँ किसान प्रभावित भएका छन्।

असारे धान भित्र्याउने समय नभइसके पनि रोगको प्रकोपका कारण किसानहरू समयअघि नै धान काट्न बाध्य भएका हुन्।

यस वर्ष असारे धानमा फैलिएको रोगका कारण बालीमा गम्भीर क्षति पुगेको छ। विर्ता फाँट मात्र होइन, जिल्लाका अधिकांश असारे धान खेती हुने फाँटमा यस्तै समस्या देखिएको छ। रोगको संक्रमणका कारण धेरै किसानको धानबाली नष्ट हुने अवस्थामा पुगेको छ।

धानमा बाला लागे पनि बालाभित्र चामल नलागेपछि खेत खाली गर्न किसानहरूले धान काट्न थालेका छन्। बोट र बाला राम्रो देखिए पनि बालामा भुस मात्रै रहेको किसानहरूको भनाइ छ।

रोगको पहिचान र नियन्त्रणबारे पर्याप्त जानकारी नहुँदा समस्या बढेको किसानहरूले बताएका छन्। जिल्ला कृषि विकास कार्यालयले समेत समयमा रोगको पहिचान गरी नियन्त्रणका उपायबारे जानकारी दिन नसकेको उनीहरूको गुनासो छ।

जिल्ला कृषि विकास कार्यालय धादिङका अनुसार धानबालीमा फङ्गसजन्य रोगको प्रकोपका कारण क्षति भएको हो। कार्यालयले रोग लागिसकेपछि अब उपचार सम्भव नभएको जानकारी किसानहरूलाई दिएको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.