चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड
एजेन्सी- चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको छ । दुईदिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । विश्लेषकहरूका अनुसार यो भ्रमणले उत्तर कोरियामाथि चीनको प्रभाव पुनः बलियो बनाउने र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा बेइजिङको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीसँग उहाँकी पत्नी पेङ लियुआन, विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नुभएको छ । गत वर्ष बेइजिङमा भएको भेटपछि सी र किमबीचको यो पहिलो औपचारिक शिखर वार्ता हो ।
भ्रमणको विस्तृत कार्यसूची सार्वजनिक नगरिए पनि जानकारहरूका अनुसार वार्ताको केन्द्रमा चीन–उत्तर कोरिया सम्बन्धको सुदृढीकरण, आर्थिक सहयोग विस्तार तथा क्षेत्रीय सुरक्षा अवस्था रहनेछ । दुवै देशले पछिल्ला वर्षमा अमेरिकासँग छुट्टाछुट्टै तनाव सामना गरिरहेका बेला पुरानो रणनीतिक साझेदारीलाई पुनः सक्रिय बनाउन खोजिरहेका छन् ।
यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सी जिनपिङले गत महिना गरेको शिखर वार्तापछि भएको हो । आगामी महिनाहरूमा सी र ट्रम्पबीच पुनः भेटवार्ता हुने अपेक्षासमेत गरिएको छ । विश्लेषकहरूका अनुसार उत्तर कोरियामाथिको प्रभाव प्रदर्शन गर्न सक्नु चीनका लागि अमेरिकासँगको कूटनीतिक प्रतिस्पर्धामा महत्त्वपूर्ण पक्ष बन्न सक्छ ।
चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार र कूटनीतिक समर्थक रहँदै आएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद बेइजिङले प्योङयाङसँगको आर्थिक सम्बन्ध कायम राखेको छ । यस वर्ष दुवै देशबीचको पारस्परिक रक्षा सन्धिले ६५ वर्ष पूरा गरेको छ ।
यद्यपि पछिल्ला वर्षहरूमा उत्तर कोरियाले रुससँगको सम्बन्ध तीव्र रूपमा विस्तार गरेपछि चीन–उत्तर कोरिया सम्बन्धको अवस्थाबारे प्रश्न उठ्न थालेका थिए । युक्रेन युद्धका क्रममा उत्तर कोरियाले रुसलाई सैन्य सहयोग दिएको र बदलामा आर्थिक तथा सैन्य सहायता प्राप्त गरेको विवरण सार्वजनिक हुँदै आएका छन् । यस्तो अवस्थामा सीको भ्रमणलाई चीनले आफ्नो परम्परागत प्रभाव पुनः सुदृढ गर्न खोजेको सङ्केतका रूपमा हेरिएको छ ।
उत्तर कोरियाको सरकारी पत्रिका रोडोङ सिनमुनमा प्रकाशित लेखमा सीले चीन र उत्तर कोरियाले रणनीतिक सहकार्यलाई अझ मजबुत बनाउँदै ‘आधिपत्यवाद’ र ‘जबरजस्ती राजनीति’ विरुद्ध मिलेर उभिनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणका लागि दुवै देशबीच सहकार्य आवश्यक रहेको पनि बताउनुभएको छ ।
विश्लेषकहरूका अनुसार चीनले उत्तर कोरियालाई समूह पर्यटक भ्रमण पुनः सुरु गर्ने, खाद्यान्न तथा मल आपूर्ति बढाउने र संयुक्त आर्थिक परियोजनाहरू विस्तार गर्ने प्रस्ताव गर्न सक्छ । उत्तर कोरिया रुसमा मात्र निर्भर रहन नसक्ने भएकाले चीनसँगको सम्बन्धलाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गरिरहेको बताइन्छ ।
भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष उत्तर कोरियाको आणविक कार्यक्रम हो । विज्ञहरूका अनुसार सीले किममाथि प्रत्यक्ष रूपमा आणविक निःशस्त्रीकरणको दबाब दिनुभन्दा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको सन्देशमा जोड दिन सक्नुहुन्छ । किम भने उत्तर कोरियालाई आणविक शक्ति सम्पन्न राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयासमा केन्द्रित देखिनुहुन्छ ।
गत महिना ट्रम्प र सीबीच भएको भेटपछि अमेरिकी पक्षले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणलाई साझा लक्ष्यका रूपमा पुनः पुष्टि गरिएको जनाएको थियो । तर चीनले केवल कोरियाली प्रायद्वीपको आणविक विषयमा छलफल भएको मात्र उल्लेख गरेको थियो । आइतबार किमकी बहिनी तथा वरिष्ठ अधिकारी किम यो जोङले अमेरिकी व्याख्यालाई ‘भ्रामक’ भन्दै अस्वीकार गर्नुभएको थियो ।
यसैबीच किम जोङ उनले हालै नयाँ आणविक सामग्री उत्पादन केन्द्रको अवलोकन गर्दै देशको आणविक क्षमता तीव्र गतिमा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले नयाँ युद्धपोतको समुद्री परीक्षणसमेत अवलोकन गर्दै परमाणु हतियारयुक्त नौसैनिक शक्ति निर्माणलाई तीव्र बनाउन निर्देशन दिनुभएको थियो ।
अमेरिका र दक्षिण कोरियाबाट आएका वार्ताका प्रस्तावहरू अस्वीकार गर्दै आएको उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम विस्तारलाई प्राथमिकतामा राखेको छ । त्यसैले सी जिनपिङको यो भ्रमणलाई केवल दुई देशबीचको नियमित कूटनीतिक भेटघाट नभई उत्तरपूर्वी एसियाको बदलिँदो शक्ति समीकरणलाई प्रभावित पार्ने महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्