आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

धादिङ- आगामी श्रावण महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको नागढुंगा–नौबिसे सुरुङमार्ग आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा भइरहेको पहिरो नियन्त्रणको काम अन्तिम चरणमा पुगेको प्राविधिकहरूले बताएका छन्।
सुरुङमार्गको धादिङतर्फको प्रवेशद्वार नजिक रहेको पहिरो प्रभावित डाँडामा आधुनिक प्रविधिमार्फत ढलान स्थिरीकरण तथा पहिरो नियन्त्रणको काम भइरहेको हो।
धुनीबेशी नगरपालिका–९, खत्रीपौवामा वर्षौंदेखि पहिरोका कारण त्रिभुवन राजपथ र सुरुङमार्गको प्रवेशद्वार क्षेत्रमा समस्या उत्पन्न हुँदै आएको थियो। तर हाल भइरहेको नियन्त्रण कार्य सम्पन्न भएपछि उक्त क्षेत्रको जोखिम उल्लेख्य रूपमा कम हुने अपेक्षा गरिएको छ।
प्राविधिकका अनुसार नयाँ प्रविधिको प्रयोग गरी भइरहेको पहिरो नियन्त्रणको काम आगामी एक महिनाभित्र सम्पन्न हुनेछ।
पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा ‘रक बोल्टिङ’ तथा ‘एङ्करिङ’ प्रविधिको प्रयोग गरी ढलानलाई मजबुत बनाउने काम भइरहेको छ। यस अन्तर्गत पहाडको भित्तामा गहिरो ड्रिलिङ गरी स्टिलका एङ्कर जडान गरिन्छ भने बाहिरी भागमा तारजाली तथा विशेष संरचनामार्फत ढलानलाई स्थिर बनाइन्छ।
यो प्रविधिमा पहिरो खस्ने सम्भावना भएका स्थानमा गहिरो प्वाल ड्रिल गरी स्टिल एङ्कर राखिन्छ र सिमेन्ट ग्राउट भरिन्छ। त्यसपछि एङ्करलाई आवाश्यकता अनुसार बलियोसंग तन्कायर मजबुत बनाइन्छ र बाहिरी भागमा विशेष प्लेट जडान गरिन्छ। यसले ढलानलाई भित्री भागको बलियो चट्टानसँग बाँधेर स्थिर राख्ने काम गर्छ।
प्राविधिकहरूका अनुसार उक्त प्रणालीले माटो तथा ढुंगालाई बग्न र खस्नबाट रोक्दै पहिरोको जोखिम न्यूनिकरण गर्छ।
पछिल्लो समय पृथ्वी राजमार्ग, मुग्लिन-नारायणगढ सडकखण्ड, बीपी राजमार्ग लगायतका पहाडी सडकका जोखिमयुक्त क्षेत्रमा समेत यही प्रविधि प्रयोग गरिँदै आएको छ।।






प्रतिक्रिया राख्नुहोस्