सुपा देउरालीको आस्था र नरपानीको शीतलताले बढायो पर्यटन

अर्घाखाँची- लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित नरपानी पछिल्लो समय गर्मी छल्ने प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। चिसो हावा, स्वच्छ पानी, हरियाली डाँडा, मनोरम प्राकृतिक दृश्य र धार्मिक पर्यटनको संगम बनेको नरपानीमा अहिले नेपालका विभिन्न जिल्ला तथा भारतका उत्तर प्रदेश, विहारलगायतका क्षेत्रबाट दैनिक सयौं पर्यटक पुग्न थालेका छन्।

तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै शीतल वातावरणको खोजीमा आउने आन्तरिक तथा भारतीय पर्यटकका कारण नरपानी क्षेत्र अहिले निकै चहलपहलपूर्ण बनेको छ। यहाँ पुगेका पर्यटकहरू चिसो हावाको स्पर्श, शुद्ध पानी र शान्त वातावरणमा रमाउँदै प्रकृतिसँग नजिकिने अवसर पाउँदा निकै उत्साहित देखिन्छन्।

नरपानीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। बिहान र साँझको समयमा देखिने हिमालका मनोरम दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ। यही कारण नरपानी प्राकृतिक सौन्दर्यसँगै फोटो तथा भिडियो खिच्ने उत्कृष्ट गन्तव्यका रूपमा पनि परिचित बन्दै गएको छ।

यस क्षेत्र धार्मिक पर्यटनसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। नरपानी नजिकै रहेको प्रसिद्ध सुपा देउराली मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूले धार्मिक परम्पराअनुसार पाठा–पाठी चढाउने गर्दछन्। मन्दिरमा पूजा–दर्शन सम्पन्न गरेपछि उनीहरू चढाएका पाठा–पाठी लिएर नरपानीमा वनभोज गर्ने परम्परा रहेको छ। यसले धार्मिक तथा प्राकृतिक पर्यटनलाई एकसाथ प्रवर्द्धन गरेको स्थानीयवासी बताउँछन्।
हिन्दू धार्मिक विश्वासअनुसार सुपा देउराली मन्दिरमा श्रद्धापूर्वक पूजा गरे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। यही आस्थाले नेपालका विभिन्न जिल्ला मात्र होइन भारतबाट समेत हजारौं भक्तजन वर्षभरि यहाँ आउने गरेका छन्।नरपानी क्षेत्रको अर्को विशेषता भनेको विशाल चट्टानका बीचबाट निर्माण गरिएको सडक हो। प्राकृतिक चट्टान चिरेर बनाइएको सडक र त्यसैको छेउमा रहेको सुपा देउराली मन्दिरले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार नरपानी र सुपा देउराली क्षेत्रको पर्यटन विकासका लागि दीर्घकालीन योजना आवश्यक छ। उहाँले सुपा देउराली मन्दिरको शिखरसम्म पुग्ने केबुलकार तथा साहसिक पदमार्ग (एडभेन्चर ट्रेल) निर्माण गर्न सके यस क्षेत्र पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताउनुभयो। यस्ता पूर्वाधार निर्माण भए स्थानीयले पर्यटन व्यवसायबाट उल्लेखनीय आम्दानी गर्न सक्ने उहाँको विश्वास छ।

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले पनि नरपानीको पर्यटन सम्भावना अत्यन्त उज्ज्वल रहेको बताउनुभयो। उहाँका अनुसार महेन्द्र राजमार्गको गोरुसिङ्गेबाट करिब ५० किलोमिटर दूरीमा रहेको नरपानी पुग्न सहज भएकाले पछिल्ला वर्षहरूमा पर्यटकको आगमन निरन्तर बढिरहेको छ। वरिपरि हरियालीले ढाकिएका डाँडा र बीचमा रहेको समथर भू–भागले यस क्षेत्रलाई अझ आकर्षक बनाएको उहाँको भनाइ छ।

स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूका अनुसार विशेष गरी गर्मी याम सुरु भएसँगै भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ। दैनिक रूपमा आउने पर्यटकका कारण होटल, रेष्टुरेन्ट तथा स्थानीय व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको उनीहरू बताउँछन्। सार्वजनिक बिदाका दिन नरपानीमा पार्किङ गर्नसमेत कठिन हुने अवस्था सिर्जना हुने गरेको स्थानीयको अनुभव छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.