मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाईलगायत वन्यजन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उहाँले बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले वन्यजन्तुको जोखिम न्यूनीकरणका लागि चार स्थानमा पूर्वसूचना प्रणाली जडान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार गत असारमा जिपिएस ट्रयाकिङ प्रणालीसमेत जडान गरिएको छ ।
उहाँले निकुञ्जबाट बस्ती सुरक्षित राख्न तारबार, मेषजाली, बाख्रासुधार तथा भकारो सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउँदै जिपिएस ट्र्याकिङ प्रणालीमार्फत निकुञ्जभित्र हुने गतिविधिबारे जानकारी प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौंदेखि जङ्गली हात्तीलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय तथा अन्नबालीमा क्षति बेहोर्दै आएका छन् । निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व बारम्बार दोहोरिने समस्या रहेको छ ।
बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले गाउँमा हात्तीलगायत वन्यजन्तु पस्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै जानकारी पाएर आवश्यक सतर्कता अपनाउने गरेको बताउनुभयो । यसले मानवीय क्षति हुन नदिन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
बाँके राष्ट्रिय निकुञ्जमा नौ वटा जङ्गली हात्ती रहेका छन् । बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहार नपाउँदा हात्तीलगायत वन्यजन्तु बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.