कांग्रेसमा रहेका चारै पुस्ताका साथीहरुलाई मिलाएर लैजान्छु : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताउनुभएको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकको पछिल्लो परिस्थितिअनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीमा भित्र र बाहिर सरकारका निर्वाचनमा मात्र बढी केन्द्रित हुने प्रवृति बढेको उल्लेख गर्दै सभापति थापाले बिपीको आदर्श र त्यागबाट सिकेर निर्वाचन तथा राजनीतिसँगै परोपकार सेवा र कल्याणका कामका जोडिन नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “रिलबाट निस्केर रियल लाइफमा हेर्नुस्, अनिमात्र सर्वसाधारण जनताका आवाज सुनिनेछन् । दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्नुस् ।”
उहाँले तीन तहका सरकारमध्ये कांग्रेस प्रदेश र स्थानीय तहका सरकारमा रहेको उल्लेख गर्दै सङ्घीय सरकारमा मात्र प्रतिपक्षमा रहेको अवस्थामा आफ्नो क्षेत्रबाट जनजिविकाका सवालमा दत्तचित्त भएर अघि बढ्न आग्रह गर्नुभयो ।
सभापति थापाले आगामी भदौ २४ गते बिपी जन्मजयन्तीको अवसर पारेर पार्टीका प्रत्येक सदस्य र समितिललाई मुलुक र जनताका लागि कुनै न कुनै प्रतिज्ञा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उपभापति विश्वप्रकाश शर्माले बिपीका आदर्श, विचार र संस्कारलाई आत्मसाथ गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने सङ्कल्प बन्ने प्रण गर्न आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समय मुलुकमा जलवायुका असरबाट ठुला विपद्का घट्ना बढ्दै गरेको बताउँदै न्यूनीकरणका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने र त्यसका लागि कांग्रेसले पनि पहल सुरु गरिसकेको बताउनुभयो ।
अर्का उपभापति पुष्पा भुसालले विशेष महाधिवेशनले पार्टी विधानलाई नयाँ ढङ्गले अघि बढाएको उल्लेख गर्दै विधानमा भएको राजनीतिक निर्वाचन ब्यूरो संयन्त्रले निर्वाचनका बेला देखिने समस्या समाधान गर्ने, समावेशी बनाउन थप सहयोग गर्ने र सबैको अपनत्व जगाउने बताउनुभयो ।
उहाँले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखमा महिला उम्मेदवार बनाउने र त्यसका लागि प्रशिक्षित गर्ने समेत बताउनुभयो ।
महामन्त्री प्रदीप पौडेलले जनताका समस्या कांग्रेसले आफ्नो एजेण्डाका रूपमा प्रस्तुत गर्ने वाचा गर्दै सिर्जनात्मक ढङ्गबाट पार्टीलाई अघि बढाउन खोजेको उल्लेख गर्नुभयो ।
उहाँले पार्टीमा प्रवेश गर्नका लागि कसैलाई कुनै पनि बन्देज नरहेको स्पष्ट पार्दै नयाँ विधानअनुसार ३५ वर्ष कम उमेरका २१ जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था समेत गरेको बताउनुभयो ।
महामन्त्री पौडेलले क्रियाशील सदस्यतालाई व्यवस्थित बनाउन अद्यावधिक गरिएको बताउँदै हालसम्म ८० प्रतिशतभन्दा बढीले अद्यावधिक गरिरहेको उल्लेख गर्नुभयो ।
अर्का पार्टी महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि युगको आवश्यकताअनुसार नेतृत्व पूस्तान्तरण भएको र सबै निर्वाचन क्षेत्रमा पक्षपात नगरी निस्पक्ष रूपमा टिकट वितरण गरिएको जानकारी दिनुभयो ।
साथै पार्टीको साङ्गठिक सुदृढीकरण, सदस्यता व्यवस्थित गर्ने काम, अनुशिक्षण, प्रशिक्षणलगायत काम गरेको उहाँको भनाइ थियो । महामन्त्री घिमिरेले विशेष महाधिवेशनमार्फत कांग्रेसले ऊर्जाशील र जनभावनाअनुसारको नेतृत्व पाएर पार्टी थप जिवन्त भएको बताउनुभयो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिपीका विचार र आदर्शलाई सबैले आफ्नो चिन्तन र व्यवहारमा उतारेर अघि बढ्नुपर्ने बताउनुभयो ।
बिपीको विचार र आदर्शलाई नयाँ चिन्तनको रूपमा नेतृत्वले बोकेर मुलुकभर अभियानका रूपमा लैजानुपर्छ भन्दै उहाँले इतिहासले हामीहरूलाई सदैव खबरदारी गरिरहेकोले त्यसलाई महसुस गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रमुख वक्ताका रूपमा प्रा कृष्ण खनालले बिपीका बारेमा मन्तव्य दिँदै बिपी कांग्रेसमा मात्र सीमित नरही सिङ्गो राष्ट्रको पुँजिका रूपमा रहनुभएकाले उहाँलाई कांग्रेसले आफ्नो मात्र बनाए उहाँप्रति अन्याय हुने धारणा व्यक्त गर्नुभयो ।
नीति प्रतिष्ठानका सदस्य मोहना अन्सारीले बिपीबाट प्रतिपादन गरेको विचार र दर्शन तथा तत्कालीन समय र परिस्थितिमा उहाँले कोर्नुभएको इतिहास आज सबैका लागि प्रेरणाको स्रोेत भएको बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्