राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन: गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भन्नुभयो, “हामीले प्रयास जारी राखेका छौँ, आशा मारेका छैनौँ । सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास गरिएको छ । राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन ।”
गृहमन्त्री गुरुङले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि भएभरको संयन्त्र परिचालन गरिएको बताउनुभयो । “सुरक्षा संयन्त्रले पूरा शक्तिका साथ काम गरिरहेको छ, त्रिशूली–३ ‘ए’ मा खोजीका लागि जाँदा दलदल थियो, एक्साभेटरसमेत डुबेको थियो”, उद्धारका प्रयासबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “अहिले सुरुङको क्राउनसम्म पुग्न सफल भएका छौँ, विद्युत् गृहको माथिबाट खनेर जान सकिन्छ कि भनेर प्रयास गरिरहेको छौँ ।”
सरकारले खोज तथा उद्धारका लागि विदेशी सहयोग लिन नचाहेको भन्ने विषयमा कुनै सत्यता नरहेको उहाँको स्पष्टोक्ति थियो । “विभिन्न टनेलमा ड्रोन पनि पठाइएको छ । सुरुङभित्रको उद्धारको अझै पनि प्रयास जारी छ, अझै आशा बाँकी नै छ”, उहाँले भन्नुभयो, “सुरूङभित्र रहेका मानिस त्यहीँको पानी खाएर रहनुभएको छ कि भन्ने आशा छ ।”
उहाँले विपद्पछिको खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोत साधनको उच्चतम् प्रयोग गरिएको जानकारी दिनुभयो । गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा ९ बजेर १५ मिनेटमा पूर्वसूचनाको एसएमएस पठाइएको जानकारी दिँदै त्यसलगत्तै सुरक्षाकर्मीले तटीय क्षेत्रमा सुरक्षित स्थानमा जान माइकिङ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.