जलविद्यु आयोजनाका सुरुङहरुमा खोज तथा उद्धार कार्य जारी

काठमाडौँ- सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त विभिन्न जलविद्यु आयोजनाका सुरुङहरुमा खोज तथा उद्धार कार्य जारी राखेको छ । बाढीको ११ दिनसम्म पनि केहीलाई जीवितै उद्धार गरिएपछि अझै पनि जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने आशा कायमै छ ।
यसै क्रममा रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा संयुक्त उद्धार टोलीले आयोजनाको छैटौ तलामा पुगेर खोज गरेको जनाएको छ । त्यस क्रममा कोही पनि नपेरेको खोज तथा उद्धार टोलीको भनाइ छ । यस आयोजनाका पाँच तल्ला पुरै लेदोले भरिएकाले थप उद्धार कार्य जारी रहेको जनाइएको छ । यसै गरी त्रिशूली 3A मा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ एवम् नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त उद्धार टोलीले थप खोज तथा उद्धार कार्य जारी राखेको छ ।
यस्तै त्रिशूली 3B मा पनि नेपालीसेना का ८९, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीद्वारा ३ वटा Bobcat र जेनेरेटरको प्रयोग गरी खोजी कार्य जारी राखेको जनाएको छ । यो आयोजनाको अडिट 2 सुरुङबाट Excavator जान सक्ने गरी बाटो सफा गरेको छ । चिलिमेहाइड्रो मा विदेशीसहितको संयुक्त टोलीले Mini Excavator र Mud Pump को सहायताले लेदो फाल्ने कार्य गरी पुनः १०५ मिटर भित्रसम्म पुगेर खोज तथा उद्धार कार्य गरिरहेको छ । माथिल्लो त्रिशुली १ को हाकु स्थित सुरुङको २५० मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले एक जना चिनियाँ नागरिक को जीवित उद्धार गरेको र थप २ वटा शव फेला पारी उद्धार गरेको छ ।
साथै, सुरुङमा रहेको लेदो हटाउँदै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ । सुरुङ मात्र नभई जमिनमै पनि खोज, उद्धार र राहत कार्यलाई तीब्रता दिइएको छ । प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसीसम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।
साथै,नेपालीसेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्तीबाट हालसम्म जम्मा ३ हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपालीसेनाका ९ हजार ३ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्