राहत कोषमा रकम जम्मा हुने क्रम जारी

काठमाडौँ– यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएका बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, सङ्घसंस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीयलगायतले रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिरहेका छन् ।
रसुवा बाढीपीडितका लागि मुस्लिम समाजद्वारा ६२ लाख सहयोग
यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाज सुनसरीले रु ६२ लाख ४५ हजार ४९ सहयोग गरेको छ । प्राकृतिक विपद्मा परेका नागरिकको स्वास्थ्य उपचार तथा पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यावसायिक सङ्घसंस्था तथा व्यक्तिगत तहबाट उक्त रकम सङ्कलन गरिएको नेपाली मुस्लिम समाज सुनसरीका उपाध्यक्ष हैदर अलीले जानकारी दिनुभयो ।
नेपाल मुस्लिम समाज सुनसरीको समन्वयमा सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी आज बैंक भौचर तथा सहयोगदाताको विस्तृत विवरणसहितका कागजात सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
कतारको कम्पास क्याटरिङ सर्भिसेस्द्वारा ३० लाख ४४ हजार उपलब्ध
नेपालीसहित ४९ देशका नागरिकलाई कतार देशमा रोजगारी दिँदै आएको कम्पास क्याटरिङ सर्भिसेस् कम्पनीले भोटेकोशी बाढीपीडितका लागि रु ३० लाख ४४ हजार  आर्थिक सहयोग उपलब्ध गराएको छ ।
कम्पनीका प्रतिनिधि अदाम अल हलाबिबी र बिजु बाबु अलाबिबीले नेपालस्थित आफ्नो सहयोगी संस्था भिजन एन्ड भ्यालु ओभरसिजको समन्वयमा उक्त रकम अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्नुभएको हो ।
अर्थ मन्त्रालयमा आज आयोजित रकम हस्तान्तरण कार्यक्रममा कम्पासका प्रतिनिधि हलाबिबीले बाढीपीडितको राहत तथा उद्धारका लागि कम्पनीले २० हजार अमेरिकी डलर सहयोग गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि शिक्षा, स्वास्थ्य उपकरण तथा रोजगारीका क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहयोग रकम ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले विपद्को समयमा बाढीपीडितको सहयोगका लागि कम्पनीले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो । भिजन एन्ड भ्यालु ओभरसिज, बसुन्धाराका उपाध्यक्ष अनिल पन्थीले भोटेकोशी बाढीपीडितको शिक्षा, स्वास्थ्य, खाद्य तथा रोजगारीका लागि आफ्नो संस्थाले आवश्यक पहल गर्ने बताउनुभयो ।
उहाँले बाढीपीडितको उद्धार तथा राहतका लागि संस्था निरन्तर सक्रिय रहेको बताउँदै भन्नुभयो, “हाम्रो संस्थाले भोटेकोशी बाढीपीडितका लागि आवश्यक राहत जुटाउन पहल गर्दै आएको छ । हामी बाढीपीडितको उद्धार र सहयोगमा अहोरात्र खटिएका छौँ ।”
काभ्रेको तेमाल गाउँपालिकाद्वारा २५ लाख ३३ हजार सहयोग
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले रु २५ लाख ३३ हजार ३३३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरेको हो । गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने १० दिन बराबरको सेवासुविधा तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम कट्टा गरी उक्त रकम सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।
नमस्ते फाउण्डेसनद्वारा २० लाख सहयोग
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नमस्ते कम्युनिटी फाउण्डेसन पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २० लाख सहयोग गरेको छ । यसअघि दुई चरणमा गरी फाउण्डेसनले रु १२ लाख सहयोग गरिसकेकामा आज थप रु आठ लाख कोषमा जम्मा गरिएको फाउण्डेसनका संस्थापक भिष्मराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेदरल्यान्ड्सस्थित नमस्ते फाउण्डेसनसँगको सहकार्यमा राहत अभियान सञ्चालन गरिएको थियो । “भोटेकोशी बाढीप्रभावितका लागि सहयोग गर्न हामीले हाम्रा सहयोगीलाई आग्रह गरेका थियौँ । उहाँहरूले पठाउनुभएको रकम राहत कोषमा जम्मा गरेका हौँ । केही रकम त्यहाँबाट सिधै राहत कोषमा समेत जम्मा भएको छ । केही दिनमा थप सहयोग रकम पनि आउनेछ”, पौडेलले भन्नुभयो ।
यसैगरी पोखराको सगरमाथा माध्यमिक विद्यालयले पनि आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख एक हजार ५५५ सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सगरमाथा माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय स्वयंले सो रकम सहयोग गरेको विद्यालयका संस्थापक प्राचार्य धनबहादुर थापाले जानकारी दिनुभयो ।
हेटौँडाका टोल विकास संस्थाद्वारा १८ लाख सहयोग
हेटौँडा उपमहानगरपालिकाभित्रका विभिन्न टोल विकास संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु १८ लाख ८६ हजार ६०४ सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाको आह्वानमा नगरका ६२ वटा टोल विकास संस्थाबाट उक्त रकम सङ्कलन गरिएको समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले टोल विकास संस्था, स्थानीयवासी तथा विभिन्न दाताबाट रकम सङ्कलन गरिएको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जनधनको क्षति भएपछि प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न सङ्घसंस्था तथा समुदायबाट सहयोग सङ्कलन भइरहेको छ ।
प्याब्सन तनहुँद्वारा रु पाँच लाख ७५ हजार सहयोग
रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तनहुँले रु पाँच लाख ७५ हजार ९२० सहयोग गरेको छ । प्याब्सन तनहुँसँग आबद्ध २३ वटा निजी विद्यालयको सहभागितामा सङ्कलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई राहत उपलब्ध गराउन तथा उहाँहरूको पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरिएको प्याब्सन तनहुँले जनाएको छ । भोटेकोशी बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि विभिन्न सङ्घसंस्था, विद्यालय, व्यवसायी तथा सर्वसाधारणले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन् । सोही क्रममा शैक्षिक क्षेत्रमा क्रियाशील प्याब्सन तनहुँले पनि संस्थागत रूपमा सहयोग जुटाएको अध्यक्ष नारायणबहादुर क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.