काठमाडौँमा व्यापार तथा व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने तयारी

काठमाडौँ – काठमाडौँ जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सुरक्षा व्यवस्था र पूर्वाधार सुनिश्चित गर्दै जिल्लाका सबै क्षेत्रमा व्यापार तथा व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने रणनीतिक तयारी अघि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै यसका लागि स्थानीय तह, सरकारी निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग आवश्यक समन्वय गरिने जानकारी दिनुभएको छ । हाल काठमाडौँको दरबारमार्ग र ठमेल क्षेत्र चौबिसै घण्टा सञ्चालनमा रहेकामा ती क्षेत्रबाहेक जिल्लाका अन्य स्थानमा पनि रातिको समयमा व्यापार तथा व्यवसाय सञ्चालन गर्ने प्रशासनको तयारी छ ।

प्रशासनका अनुसार बजार चौबिसै घण्टा सञ्चालन गर्न सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्नेछ । साथै, भरपर्दो सुरक्षा प्रबन्ध सुनिश्चित गर्नुपर्ने भएकाले आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थाको तयारी भइरहेको छ । यी सबै व्यवस्था पूरा भएपछि मात्र जिल्लाका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.