हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

काठमाडौँ- नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले प्रदान गर्दै आइरहेको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट यो वर्ष चारजना टेलिभिजन पत्रकार संयुक्त रुपमा पुरस्कृत हुनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनमा आइतबार बसेको पुरस्कार छनोट समितिको बैठकले प्राप्त भएका सामग्रीहरु मध्येबाट गत वर्ष भदौ २३ गते भएको जेन्जी आन्दोलन सम्वन्धित विषयवस्तुसंग सम्वन्धित समाचारहरुका लागि कान्तिपुर टेलिभिजनका क्यामरापर्सन श्याम श्रेष्ठ र हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र आर्याललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यसैगरी जलवायु परिवर्तनका कारण अन्नपूर्ण हिमशृङ्खला र त्यसको आधार शिविरमा परेको असर सम्वन्धित समाचारका लागि नेपाल टेलिभिजनका संवाददाता अञ्जिर सिंह बि.क. तथा बाढी र पहिरोकाबीच धादिङको विकट भेगका जनजीवनमा परेको असरबारेको स्थलगत समाचारका लागि नेपाल टेलिभिजनका संवाददाता शिव सिलवाललाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

विज्ञद्वय वरिष्ठ सञ्चारकर्मी डा श्रीराम पौडेल र नम्रता शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वसी बस्न्यात, एनटिभी न्यूजका निर्देशक पुष्पहरि क्याम्पाराई तथा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेल सदस्य रहेको पुरस्कार छनोट समितिले एक लाख रुपैंया राशीको पुरस्कारका विजेताहरुको छनोट गरेको हो ।

जलवायु परिवर्तनका कारण नेपाली जनजिवनमा परिरहेको प्रभाव सम्वन्धमा विकट भुगोलको यथार्य वस्तुस्थिति र नेपाली राजनीतिमा ठूलो प्रभाव रहेको जेन्जी आन्दोलन दुई विधामा छुट्याएर पुरस्कृत छनोट गरिएको छनोट समितिले जनाएको छ ।

पुरस्कारको कुल राशी चार जना पुरस्कृत पत्रकारहरुलाई दामासाही रुपमा वितरण गरिने छ । पुरस्कार यहि असोज ७ गते नेपाल टेलिभिजनमा हुने विशेष कार्यक्रमको आयोजनाबीच वितरण हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.