पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं -नेपालको पश्चिमी भूभागमा भइरहेको भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज भारी वर्षा भएका पश्चिमी क्षेत्रका केही स्थानमा भोलिसम्म पनि वर्षा जारी रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। ती ठाँउहरुमा सवारी नचालाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस अवधिमा पाल्पाको अर्चले मौसम मापन केन्द्रमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।
नेपालमा हाल भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास विकसित न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा सोही प्रणालीका कारण पश्चिमी क्षेत्रमा केन्द्रित हुँदा त्यहाँ भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
यो प्रणाली क्रमशः पश्चिमतिर सर्दै कमजोर हुने क्रममा रहे पनि आज र भोलिसम्म पश्चिमी क्षेत्रमा यसको प्रभाव कायमै रहने महाशाखाको पूर्वानुमान छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्ने भएकाले महाशाखाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमको अवस्थाअनुसार पश्चिमी क्षेत्रका विभिन्न स्थानमा सुन्तला र रातो रङको चेतावनीसमेत जारी गरिएको छ।
भोलिसम्म पश्चिमी प्रदेशका केही क्षेत्रमा वर्षा कायम रहने र त्यसपछि भने देशभरकै मौसममा क्रमिक सुधार आउने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले भारी वर्षा भएका तथा चेतावनी जारी गरिएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गरेका सूचना तथा चेतावनी पालना गर्न आग्रह गरेको छ।






प्रतिक्रिया राख्नुहोस्