कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान र भविष्यबारे गम्भीर छलफल र संवाद गर्ने थलो भएको बताउनुभएको छ।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति भुसालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्नुपर्ने बताउनुभयो।
‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ,’ उहाँले भन्नुभयो।
उपसभापति भुसालले महाधिवेशन केवल पद व्यवस्थापन र नेतृत्व चयनका लागि मात्रै नभएको बताउनुभयो। कांग्रेसका नेता–कार्यकर्ता मात्रै नभई लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले पार्टीको अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उहाँको भनाइ छ।
‘यो महाधिवेशन पद व्यवस्थापन गर्नका लागि मात्र भइराखेको छैन। यो महाधिवेशन कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतन्त्रमा र कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ,’ उहाँले भन्नुभयो।






प्रतिक्रिया राख्नुहोस्