कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनको आधार भएको बताउनुभएको छ ।

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो ।”

राष्ट्रपति पौडेलले तीनै तहका सरकार जनताले राखेका ती अपेक्षा पूरा गर्नेतर्फ गम्भीर हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गर्नुभयो ।

“प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइन; यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकांक्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशासनिक भवन आधुनिक भएजस्तै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । ”

उहाँले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.