बूढानीलकण्ठ मन्दिर वरपरको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु

काठमाडौँ- ऐतिहासक, धार्मिक एवम् पर्यटकीय महत्त्व बोकेको प्रसिद्ध बुढानीलकण्ठ मन्दिरको नाममा रहेको तथा मन्दिर क्षेत्र आसपास सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचनाहरू हटाउन शुरु गरिएको छ ।
सार्वजनिक जग्गाको संरक्षण गर्ने, धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थित व्यवस्थापन गर्ने र मन्दिर क्षेत्रको सौन्दर्यलाई अभिवृद्धि गर्ने मुख्य उद्देश्यसहित काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अतिक्रमित जमिन खालि गराउन शुरु गरेको हो ।
यसअघि प्नशासनले मन्दिर क्षेत्र वरिपरि रहेका सार्वजनिक जग्गा तथा ओगटेर बनाइएका घरटहरा, स्थायी तथा अस्थायी पसलहरू र अन्य अवैध संरचनाहरू आफैँ हटाउन सम्बन्धित व्यक्ति तथा व्यवसायीहरूलाई सूचना प्रकाशित गरी निर्देशन दिएको थियो ।
सार्वजनिक र गुठीका जग्गाहरू व्यक्तिगत प्रयोजनमा प्रयोग हुँदा मन्दिर क्षेत्रको व्यवस्थापन, आवतजावत र सौन्दर्यमा गम्भीर असर परेको भन्दै अतिक्रमित जग्गा खालि गराउन माग हुँदै आएको थियो ।
जग्गा अतिक्रमणका कारण मन्दिर परिसरमा दर्शनार्थीहरूको सहज आवागमनमा अवरोध पुगिरहेको र अस्तव्यस्तता बढेकाले यसलाई हटाउनुपर्ने आवश्यकता देखिएको हो। मन्दिरको पवित्रता, ऐतिहासिक गरिमा र सांस्कृतिक सौन्दर्यलाई जोगाइराख्न यो कदम चालिएको सम्बन्धित पक्षले जनाएको छ।
जिल्ला कार्यालय काठमाडौँले २०४४ भाद्र ३१ गते प्रकाशित गरेको सूचना बमोजिम बुढानिलकण्ठ मन्दिर समेतको मर्मत र विस्तारका सन्दर्भमा जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जाका लागि प्रकाशित ७६ वटा कित्ताको हालको अवस्थाका सम्बन्धमा २०८२ माघ ५ गते जिल्ला मुआब्जा निर्धारण समितिबाट गठित उप समितिले पेश गरेको प्रतिवेदन अनुसार मुआब्जा बुझेका राष्ट्रिय वाणिज्य बैंक लि., गुठी संस्थान र व्यक्ति २६ गरी जम्मा २८ जना जग्गाधनीको कित्ता नं. स्थलगत रुपमा नापजाँच, प्रमाणिकरण गरी सीमाङ्कन समेत गर्नका लागि गत जेठ ७ गते टोली गठन गरिएको थियो।
उक्त टोलीले साविकमा मुआब्जा बुझिलिएका लिखत बमोजिम मुआब्जा प्राप्त गरेका जग्गा धनी र कित्ता नम्बरहरुको हकमा स्थलगत अध्ययन पछि प्रत्येक मुआब्जा बुझेका जग्गा धनीहरुको कित्ता नम्बरहरुको पहिचान गर्ने, हालको जग्गाको उपभोगको अवस्थाको एकिन गर्ने, उक्त जग्गाको मालपोत र नापीमा भएको अभिलेखसँग फिल्ड भिडाएर स्थलगत रुपमा नापजाँच तथा प्रमाणीकरण गरी सिमाङ्कन तथा चिनोसमेत लगाई यो प्रतिवेदन पेश गरेको थियो। तर स्थलगत रुपमा फिल्ड मूल्याङ्कन गर्दा मुआब्जा बुझेका जग्गाधनीहरुको २५ वटा कित्ताका नम्बरहरु एकिन गरिएको थियो।
अहिले भत्काउन लागिएका संरचना त्यसै भित्रको रहेको बूढानीलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष आकाश धितालले जानकारी दिनुभएको छ ।
मन्दिरको संरक्षणका लागि अधिग्रहण गर्ने भनेर किटान गरी तत्कालीन समयमै मुआब्जा लिइसकेका र मन्दिर वरपरको सार्वजनिक जग्गामा बनेका संरचना हटाउन लागिएको धितालले बताउनुभयो ।
पुरातात्विक महत्वको मन्दिरलाई विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने प्रयास भईरहेपनि मन्दिर वरपरको वातावरणले गर्दा सम्भव हुन नसकेको र मन्दिरको जग्गा अतिक्रमण गर्ने क्रम झनै बढ्दै गएकोले मन्दिर जोगाउन यो प्रयास थालिएको हो ।।






प्रतिक्रिया राख्नुहोस्