नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उहाँले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रण व्यक्त गर्नुभयो ।

प्रहरी सङ्गठनको मर्यादा र निश्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पूँजीमा रूपमा औँल्याउनुभयो । “आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महुसस गरुन्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्”, उहाँले भन्नुभयो ।

उहाँले आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले सीमित स्रोत साधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा बढुवामा निश्पक्षता र मानसिक स्वास्थ्यलगायत पक्षमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गर्दै प्रहरी महानिरीक्षक केसीले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि राजनीतिक दलबाट सहयोगको अपेक्षा गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.