लन्डनस्थित नेपाली दूतावासमा गौतम बुद्धको प्रतिमा अनावरण

काठमाडौँ- बेलायतको लन्डनस्थित नेपाली दूतावासमा भगवान् गौतम बुद्धको प्रतिमाको औपचारिक अनावरण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले बुद्ध प्रतिमाको अनावरण गर्नुभएको हो ।

नेपाली दूतावासद्वारा आयोजित विशेष ‘नेपाल इभिनिङ’ कार्यक्रममा बुद्ध प्रतिमाको अनावरण गरिएको हो ।

लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमाको स्थापना हुनु नेपालको बौद्ध सम्पदा र भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

कार्यक्रममा मन्त्री पौडेलले भगवान् गौतम बुद्धलाई शान्ति र करुणाका विश्वदूतका रूपमा चित्रण गर्दै बेलायतस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमा स्थापनाबाट विश्वव्यापी शान्ति र करुणाको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले एनआरएनएको पहलको प्रशंसा गर्दै नेपालको बौद्ध सम्पदा र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न संघले पुर्‍याउँदै आएको योगदानको सराहना गर्नुभयो ।

अभियानको मुख्य उद्देश्य भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थल, आध्यात्मिक पर्यटन तथा सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु हो ।

दूतावासमा बुद्ध प्रतिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को पहलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूके (NCC UK) तथा बुद्ध फाउन्डेसन यूकेको सहकार्य र समन्वयमा स्थापना गरिएको हो ।

यस अभियानमा नेपाल पर्यटन बोर्ड (NTB) ले बुद्ध प्रतिमालाई नेपालबाट बेलायतसम्म ढुवानी गर्न आवश्यक सहयोग उपलब्ध गराएको थियो ।

विभिन्न संस्थाको सहकार्य र योगदानबाट नेपालको बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अभियान अघि बढेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.