सुरक्षा, आपूर्ति र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा कार्यालयबाट भएको प्रगति विवरण सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव तथा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

पछिल्लो साता प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको विषयसमेत समेटिएको सो विवरणमा राष्ट्रिय नीति एवं दस्तावेज निर्माण, लगानी बोर्डको कार्यप्रगति, सूचनाको हक र मानवअधिकारलगायतका विषयमा भएका प्रगति समेटिएका छन् ।

यसै साता राष्ट्रिय नीति एवं दस्तावेज निर्माणलाई स्तरीकरण एवं गुणस्तरीय बनाउने प्रयोजनार्थ नेपाल सरकारका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई नीति तर्जुमा, नीति विश्लेषण तथा नीति परीक्षणसम्बन्धी तीनदिने तालिम प्रदान गरिएको छ ।

त्यस्तै उपभोक्ता ठगी, मिसावट, कृत्रिम अभावजस्ता अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप नियन्त्रण गरी अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र उपभोक्ता हकहित संरक्षण गर्न सम्बन्धित निकायले सघन बजार अनुगमन गर्ने निर्णय गरिएको छ ।

नागरिकले सरल, सहज र प्रभावकारी ढङ्गले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूमा एकल विन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गराउने व्यवस्था गरिएको प्रवक्ता अर्यालको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.