ऊर्जा अर्थतन्त्र निर्माणमा विश्व बैंकसँग सहकार्य प्रभावकारी बनाइने

काठमाडौँ –ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको हो ।
भेटमा जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित विपद्बाट सुरक्षित राख्न जोखिममा आधारित पूर्वाधार योजना, प्रभावकारी पूर्वतयारी र संस्थागत समन्वय आवश्यक रहेको विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले बहुप्रकोपीय पूर्वसूचना प्रणाली, जल तथा मौसमसम्बन्धी अनुगमन संयन्त्र, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।
उहाँले बढ्दो विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत र क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीन उत्पादन योजना बनाउनुपर्ने बताउँदै प्रसारण तथा वितरण पूर्वाधारमा लगानी विस्तार गरी ग्रिडका अवरोध हटाउन र विद्युत् निकासी क्षमता बढाउनुपर्ने धारणा राख्नुभयो ।
ऊर्जा सुरक्षाका लागि जलविद्युत्सँगै सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको सन्तुलित विकास, ऊर्जा भण्डारण र ग्रिडको लचकता अभिवृद्धि गर्नुपर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा विकास साझेदारसँगको सहकार्यलाई राष्ट्रिय प्राथमिकतासँग जोड्दै स्पष्ट लक्ष्य, समयसीमा र मापनयोग्य उपलब्धिमा आधारित बनाउने विषयमा समेत कुराकानी भएको थियो । नेपाल सरकार र विश्व बैंकबीच विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको विस्तारलाई आगामी सहकार्यका प्राथमिकताका रूपमा अघि बढाउने समझदारी भएको छ ।






प्रतिक्रिया राख्नुहोस्