तराई-मधेशको मौलिक पर्व ‘सामा–चकेवा’ सम्पन्न
सिरहा- दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक तराई मधेशको मौलिक लोकपर्व सामा–चकेवा पर्व सम्पन्न भएको छ ।
कार्तिक पूर्णिमाको अवसरमा सामा–चकेवालगायत माटाका कलात्मक मूर्तिहरूलाई पालकी र डालीमा सजाएर पोखरी तथा तलाउमा जल प्रवाह गरेसँगै यो पर्व विधिवत् समापन भएको हो ।
सुखिपुर नगरपालिका वडा नं. ८ की आशा देवी चौधरीका अनुसार विवाहमा जसरी छोरीलाई बिदाइ गरिन्छ, त्यसरी नै थारु पौराणिक समधौन र बिदाइका गीत गाउँदै नगर परिक्रमासहित मूर्ति विसर्जन गरिएको छ ।
छठ पर्व सकिए लगत्तै सुरु हुने यस पर्वमा सामा, चकेवा, सतभैयाँ, चुगला (चापलुसी गर्ने व्यक्ति) र चराका प्रतिमा बनाई मण्डपमा राखिन्छ ।
पर्व अवधिभर थारु समुदायका महिला तथा दिदीबहिनीहरूले प्रत्येक साँझदेखि मध्यरातसम्म आँगन, चोक, टोलगल्ली र सडकमा दियो बालेर दाजुभाइको प्रशंसा र दीर्घायुको आशिष दिँदै सामा गीत गाउने परम्परा छ ।
पौराणिक किंवदन्तीअनुसार भगवान् कृष्णकी छोरी सामालाई वृन्दावनको जङ्गलमा एक ऋषिसँग प्रेम गरेको झूटो आरोप लागेपछि कृष्णको श्रापले उनी र वनका सबै ऋषिहरू पक्षी बनेका थिए ।
पछि भाइ साम्बको अगाध माया र बलिदानले उनीहरूले पुनः मानव रूप पाएको जन विश्वास रहेको सुखिपुर नगरपालिका वडा नं. ८ का श्री नारायण चौधरी बताउनुहुन्छ ।
प्राचीन लोकपरम्परा, लोककला, प्रकृतिप्रतिको सम्मान र पारिवारिक सम्बन्ध झल्काउने यस पर्वले सामाजिक सद्भाव बलियो बनाउँदै आएको छ ।।






प्रतिक्रिया राख्नुहोस्