पूर्व मुख्यसचिव अर्याल नेपाल-भारतको सीमा क्षेत्रबाट पक्राउ
काठमाडौँ- मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्याललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अर्याललाई बुधबार मोरङकोस्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहेका अर्याललाई ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्यालको संलग्नता छ ।
उक्त निर्णयबाट सङ्गठित समूहलाई आर्थिक लाभ पुग्ने र नेपाली श्रमिकमाथि भएको ठगीलाई संरक्षण मिल्ने अवस्था सिर्जना भएको अनुसन्धानको प्रारम्भिक आधारमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार यस प्रकरणमा अमेरिकी डलर ६३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी नेपाली रुपियाँ एक अर्ब ६९ करोड दुई लाख २४ हजारभन्दा बढी रकम गैरकानुनी रूपमा सङ्कलन गरी मलेसिया पठाइएको विषय अनुसन्धानको दायरामा रहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्