शैक्षिक गुणस्तर सुधारका लागि ‘मार्च टु लोकल लेभल २०२४’ अभियान

सुर्खेत- नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतले सांगठनिक सुदृढीकरणसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष अभियान शुरु गरेको छ । संगठनले जिल्लाका नौ वटै पालिकाका ९९ वडासम्म पुग्ने गरी ‘मार्च टु लोकल लेभल २०२४’ अभियान शुरु गरेको हो ।
अभियानले विद्यालय शिक्षाको गुणस्तर अभिबृद्धिसँगै नयाँ योजनाहरुको मार्गचित्र तय गर्ने लक्ष्य लिएको छ । ‘मार्च टु लोकल लेभल’ कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय महासचिव हंसबहादुर शाहीले शैक्षिक गुणस्तर विद्यालय स्तरसम्म पुर्याउन कार्यथलोमा आफुलाई अब्बल शिक्षकका रुपमा सावित गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका प्रमुख महेशदत्त देवकोटाले शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो पेशालाई मर्यादित बनाउन लागि कक्षा कोठामा अब्बल शिक्षकका रुपमा स्थापित हुन आवश्यक रहेको औल्याउनु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य रत्नबहादुर बुढाले शिक्षक सरुवा प्रक्रियामा विभिन्न चरणहरु पार गर्नुपर्ने झंझटिलो अवस्थाबाट शिक्षकहरुले सास्ती भोग्नु परिरहेको बताउनु भयो ।
‘शिक्षक सरुवामा भईरहेको चलखेल र बेइमानी तत्काल नरोकिए पेशाप्रति नै वितृष्णा जगाईरहेको छ,’ उहाँले भन्नु भयो, ‘शिक्षा विकास तथा समन्वय ईकाई, प्रदेश महासंघ, जिल्ला महासंघ, पालिकाका शिक्षा प्रमुख, तथा जनप्रतिनिधि वीच समन्वयात्मक बैठक बसि समस्या तत्काल समाधान गरिनु पर्छ ।’
कार्यक्रममा नेपाल शिक्षक महासंघ सुर्खेतका अध्यक्ष ढालबहादुर खत्रीले समय सापेक्ष प्रविधियुक्त, शिक्षण विधि अवलम्वन गर्दै थोरै विद्यार्थी संख्यामा सञ्चालित विद्यालयहरुलाई समेटेर ‘मेघा’ विद्यालय स्थापित गरी शैक्षिक गुणस्तर कायम गर्न सकिने बताउनु भयो ।
त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष डिलाराम भण्डारीले संसदमा विचाराधिन विद्यालय शिक्षा ऐन २०८० जारी गराउन सरकारलाई दवाव दिन आवश्यक रहेको औल्याउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश अध्यक्ष मोहन गौतम, नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देबेन्द्रराज अधिकारी, पेशागत महासंघ सुर्खेतका अध्यक्ष रिता पौडेललगायतले ‘मार्च टु लोकल लेभल २०२४’ अभियान सफलताको शुभकामना दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्