सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने संभावना नभएपछि आजका लागि डाकिएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।

गठबन्धन दल नेकपा (एमाले) ले आज विश्वासको मत नदिने अडान लिएपछि उहाँले भोलि विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

यसअघि, आज बेलुका ५ बजे विश्वासको मत लिने तय भएको थियो । तर, उहाँले विश्वासको मत नपाउने अवस्था बनेपछि आज बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

अर्को बैठक भोलि बेलुका ५ः३० बजे बोलाइएको छ ।

नेकपा (एकीकृत समाजवादी) का सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनु भएका उहाँले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान छ ।

रेशम र रञ्जिता पक्ष समूहमा सांसद विभाजित नागरिक उन्मुक्ति पार्टी भित्रको विवादले पनि मुख्यमन्त्रीलाई अफ्ठ्यारो बनाइरहेको छ ।

आज मुख्यमन्त्री सोढारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले निर्देशन नै जारी गर्‍यो ।

नागरिक उन्मुक्ति पार्टीमा रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।

प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेमा गठबन्धन दल एमालेका ११, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य दुई, एकीकृत समाजवादीको चार सदस्य रहनुभएको छ । एक स्वतन्त्रसमेत गरेर मुख्यमन्त्रीलाई २८ जना प्रदेश सभा सदस्यको समर्थन भने देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.