दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

सोलुखुम्बु- यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् ।

आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रोप फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो । “उहाँहरू शुक्रबार राति ८:१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरु जान्छन् ।” उहाँले भन्नुभयो ।

शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा (दोलखा), तेन्जिङ ग्याल्जेन शेर्पा, (सोलुखुम्बु), पेम्बा टासी शेर्पा (सङ्खुवासभा), लाक्पा शेर्पा (सङ्खुवासभा), दावा रिन्जे शेर्पा (सङ्खुवासभा), दावा शेर्पा (सङ्खुवासभा), पाम दोर्जी शेर्पा(सोलुखुम्बु), सुकबहादुर तामाङ (सङ्खुवासभा), नामग्याल दोर्जे तामाङ (सोलुखुम्बु) र लाक्पा रिन्जी शेर्पा (सङ्खुवासभा) छन् । यो वसन्त ऋतुमा ४१ वटा समूहका चार सय १४ आरोहीले सगरमाथ चढ्ने अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.