जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामीको निधन

आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो जीवित बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको प्रत्यारोपण गर्ने अमेरिकी अस्पतालले बताएको छ ।

विश्वमा पहिलो पटक मार्चमा म्यासाच्युसेट्सको जनरल अस्पतालका सर्जनहरूले आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । ६२ वर्षीय ती व्यक्ति अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित थिए ।

“स्लेम्यानलाई विश्वभरमा असङ्ख्य प्रत्यारोपण रोगीहरूका लागि सधैँ आशाको किरणका रूपमा हेरिने छ र जेनोट्रान्सप्लान्टेसनको क्षेत्रलाई अगाडि बढाउने उनको विश्वास र इच्छाप्रति हामी अत्यन्त आभारी छौँ”, अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

विश्वभर अङ्गको अभाव पुरानो समस्या हो र मास जनरलले मार्चमा मिर्गौला प्रत्यारोपणका लागि उसको प्रतीक्षा सूचीमा एक हजार चार सयभन्दा बढी बिरामी रहेको बताएको थियो ।

अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो र हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो ।

टाइप २ मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानलाई सन् २०१८ मा एउटा प्रत्यारोपित मानव मिर्गौला प्राप्त भएको थियो तर उक्त मिर्गौला पाँच वर्षपछि असफल हुन थाल्यो ।

अस्पतालले मार्चमा सफल प्रत्यारोपणको घोषणा गर्दा स्लेम्यानले ‘आफ्नो मद्दत गर्ने तरिकाका रूपमा मात्र नभई जीवित रहनका लागि प्रत्यारोपणको आवश्यकता भएका हजारौँ मानिसलाई आशा प्रदान गर्ने तरिकाका रूपमा’ उक्त प्रक्रियाका लागि सहमत भएको बताएका थिए ।

अमेरिकी स्वास्थ्य विभागको वेबसाइटअनुसार यो वर्षको मार्चसम्म ८९ हजारभन्दा बढी बिरामी राष्ट्रिय मिर्गौला प्रतीक्षा सूचीमा थिए । अङ्ग प्रत्यारोपणको प्रतीक्षामा हरेक दिन औसत १७ जनाको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.