संघीय निजामती सेवा ऐन छिट्टै आउँछ- मन्त्री जोशी
रसुवा- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा ऐनलाई छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको आर्थिक बर्ष २०८०।०८१ को समिक्षा कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री जोशीले उक्त कुरा बताउनुभएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम तथा सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक सुशासन कायम गर्ने मूल संयन्त्रका रुपमा विकास गर्ने गरी संघीय निजामती विधेयकलाई समृद्ध बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।
विधेयकमा अन्तरतह तथा अन्तर प्रदेश सरुवा, ट्रेड युनियन लगायतका विषयमा थप स्पष्ट पारिएको उहाँको भनाई छ । सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा शर्त र सुविधा सम्बन्धी कानुनलाई सङ्घीयता अनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन विधेयक ल्याइएको जनाइएको छ । मन्त्री जोशीले जनताले अनुभूत गर्नेगरी तीन तहका सरकार मिलेर काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्