शिक्षकलाई दुई लाख रुपैयाँको रोटरी पुरस्कार

काठमाडौँ- रोटरी क्लब अफ कान्तिपुर काठमाडौँले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा नेपालका प्राथमिक तहका विद्यार्थीको समग्र विकास र समृद्धिमा विशिष्ट योगदान पुर्‍याउनु हुने दुई शिक्षकलाई ‘रोटरी क्लब कान्तिपुर–सुशीला किरण प्याकुरेल’ पुरस्कारबाट सम्मान गरेको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

क्लबले एक कार्यक्रमको आयोजना गरी यस वर्ष प्राथमिकस्तरका बालबालिकाको समग्र विकासमा उत्कृष्ट योगदान गरेबापत कन्काली माध्यमिक विद्यालय, चन्द्रागिरि-१३ काठमाडौँमा कार्यरत शिक्षिका कल्पना जोशी र सुन्दरादेवी आधारभूत विद्यालय, विदुर-७, तुप्चे, नुवाकोटमा कार्यरत शिक्षक विजय बोगटीलाई पुरस्कृत गरेको हो । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद धोजुले सो पुरस्कार प्रदान गर्नुभएको हो ।

रोटरी क्लब अफ कान्तिपुर र सो क्लबका पूर्वअध्यक्ष किरणनाथ प्याकुरेल तथा उहाँकी धर्मपत्नी सुशीला प्याकुरेलको विशेष सक्रियतामा यसै वर्ष स्थापित अक्षय कोषअन्तर्गत सो पुरस्कारका लागि काठमाडौँ उपत्यकाभित्रका सामुदायिक विद्यालय तथा रोटरी क्लब कान्तिपुर-उर्मिला व्यास छात्रवृत्तिमा आबद्ध विद्यालयलाई समावेश गरिएको थियो ।

यस पुरस्कारअन्तर्गत प्राथमिक तहमा कार्यरत सर्वोत्कृष्ट एक शिक्षक र एक शिक्षिकालाई प्रोत्साहनस्वरूप प्रत्येक वर्ष उत्कृष्टताको प्रमाणपत्रका साथै एक लाख नगदले सम्मानित गरिँदै आइएको छ । रोटरी अफ क्लब कान्तिपुरले शिक्षा, स्वास्थ्यसमेत विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको क्लबका अध्यक्ष शरदराज विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.