सहकारीको रकम हिनामिनाको अभियोगमा ३५ जनाको मुद्दा शुक्रबार दर्ता हुने

नवलपुर- पूर्वी नवलपरासी कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख रुपैयाँभन्दा बढी बचत रकम हिनामिना गरेको अभियोगमा ३५ जनालाई विपक्षी बनाएर भोली शुक्रबार सरकारी वकिलको कार्यालय नवलपरासी पूर्वले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय नवलपरासी पूर्वका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले सहकारीको रकम हिनामिना गरेकी राप्रपा सांसद गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने जानकारी दिनुभएको छ ।

रकम हिनामिनामा संलग्न भएका ३५ जनामध्ये १० जना प्रहरी हिरासतमा रहेका छन् भने सांसद गीता बस्नेतसहित अन्य २५ जना फरार रहेका छन् । छिपछिपे सहकारीको १ करोड रुपैयाँ बर्दिया सदरमुकाममा रहेको कृष्णसार रिसोर्टमा लगिएको र त्यो रिसोर्टकी मुख्य सञ्चालक सांसद बस्नेत रहेको उहाले बताउनुभयो ।

२५ दिनअघि पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि सांसद बस्नेत फरार रहनुभएको छ ।

सहकारीको सञ्चालक समिति र कर्मचारीका रूपमा कार्यरत ३५ जनाले बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ हिनामिना गरेको प्रहरीले अनुसन्धानमा किटानी गरेको छ । यो सहकारीको रकम हिनामिना गर्ने मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे रहेको र उहाँ यो सहकारीको सात वर्षभन्दा बढी समय आफैं अध्यक्ष र व्यवस्थापक रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.