म्याग्दीका नौजना उत्कृष्ट किसान र एक कृषि समूहलाई सम्मान

 म्याग्दी – १२औं राष्ट्रिय कृषक दिवसको अवसरमा  हिमाली जिल्ला म्याग्दीका नौजना उत्कृष्ट किसानहरु सम्मानित भएका छन् ।

कृषि र पशुपालनको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै आइतबार उत्कृष्ट नौजना किसान र कृषि समूह छनोट गरी सम्मान गरिएको हो ।
कृषि ज्ञान केन्द्र म्याग्दी र अन्नपूर्ण गाउँपालिकाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी उत्कृष्ट किसान र कृषि समूहलाई सम्मान गरेको जनाएका छन् । सम्मानित हुनेहरुमा बेनी नगरपालिका–१, रत्नेचौरका दल गिरी पुन, मंगला गाउँपालिका–१, पूर्णगाउँका ठहरबहादुर केसी, बेनी नगरपालिका–४, डाँडाखेतका महेन्द्र बानियाँ र बेनी–६, बाँसबोटका दुर्गाप्रसाद पौडेल रहनुभएको छ ।
उहाँहरु सबैलाई जनही १०÷१० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो । उत्कृष्ट किसानहरुलाई कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोला, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई म्याग्दीका कृषि अधिकृत बिक्रम बस्यालले पुरस्कार प्रदान गर्नुभएको थियो । चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत सञ्चालित जिल्लास्तरीय उत्कृष्ट कृषि पुरस्कार कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट कृषक छनौट गरी सम्मान गरिएको थियो ।
यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पनि राष्ट्रिय कृषक दिवसको अवसरमा उत्कृष्ट पाँचजना कृषक र एकवटा कृषि समूह छनोट गरी सम्मान गरेको जनाएको छ । सम्मानित हुनेहरुमा घारका तेजबहादुर बरुवाल, राम्चेका चित्रबहादुर गर्बुजा, हिस्तानकी टिका पाईजा तिलिजा तथा बेगबहादुर पूर्जा र राम्चेका तुलबहादुर पाईजा रहनुभएको छ ।

उहाँहरु सबैलाई जनही ३५ हजार आठसय रुपैयाँको दरले नगदसहित कदरपत्रले सम्मान गरिएको गाउँपालिकाको कृषि विकास शाखा प्रमुख कृति आचार्यले जानकारी दिनुभयो । त्यस्तै नारच्याङको सक्रिय जागरुक महिला कृषि समूहलाई नगद २० हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरिएको छ ।
राष्ट्रिय कृषक दिवसको अवसरमा उत्कृष्ट कृषकको रुपमा आफूहरु सम्मानित हुन पाएकोमा किसानहरु खुसीले दङ्ग परेका छन् । वि.सं. २०७० सालदेखि मनाउन सुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिन्छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधार्न गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गतेको दिन राष्ट्रिय कृषक दिवस मनाउन थालिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.