अत्यधिक भिड भएपछि राष्ट्रिय परिचयपत्रको लागि पालिकामै दर्ता शिविर

मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरका ९ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता बिशेष शिविर सञ्चालन गर्ने भएको छ ।

सेवाग्रहीको भिड अत्याधिक भएपछि मंगलबार एक सूचना जारी गर्दै सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राहीको राष्ट्रिय परिचयपत्र विवरण स्थानीय तहमा सञ्चालन हुने शिविरबाटै प्रदान गर्ने भएको हो ।

मकवानपुरका १० स्थानीय तहमध्ये ९ ओटा पालिकासंगको समन्वयमा सम्बन्धित पालिकाको केन्द्रमा आजदेखि विवरण दर्ता टोली खटाइने भएको हो । हेटौंडा उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता हुनेछ ।

सेवाग्राहीको सहजताका लागि सम्बन्धित पालिकाको केन्द्रमा परिचयपत्रको विवरण दर्ता गर्ने टोली खटाउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि प्रसाशनबाट २ वटा टोली खटाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक पालिकामा ४ दिनसम्म तीन वटा दर्ता स्टेशन मार्फत् लाभग्राहीको वैयक्तिक तथा जैविक विवरण लिने कार्य हुनेछ ।

सूचनामा जनाइए अनुसार पहिलो टोली जेठ ३० गतेदेखि असार १ गतेसम्म राक्सिराङ गाउँपालिकामा विवरण दर्ताको लागि खटिनेछ । असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा विवरण दर्ता गर्ने तालिका रहेको छ ।

दोस्रो टोलीले जेठ ३१ गतेदेखि असार २ गतेसम्म वागमती गाउँपालिकामा सेवा प्रवाह गर्नेछ । असार ४ गतेदेखि ७ गतेसम्म बकैया गाउँपालिकामा, असार ९ गतेदेखि १२ गतेसम्म मकवानपुरगढी गाउँपालिकामा, असार १४ गतेदेखि १७ गतेसम्म भीमफेदी गाउँपलिकामा, असार १९ गतेदेखि २२ गतेसम्म मनहरी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिनेछ ।

सेवाग्राही धेरै भएका दुर्गम वडाको हकमा सम्बन्धित वडा मै गएर विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताउनुभयो ।

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन आउनेको चाप थामिनसक्नु थियो ।

तीन चार दिन धाउँदा समेत पालो नआएको ज्येष्ठ नागरिकले गुनासो गरेका थिए । यस सम्बन्धि भिडियो रिपोर्ट नेपाल टेलिभिजनले प्रशारण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.