कांग्रेस केन्द्रीय समिति बैठकको तयारी

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक असार दोस्रो साता बोलाउने भएको छ । गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदनहरु अनुमोदन गर्नेगरी बैठक बोलाउने तयारी गरिएको नेताहरुले बताएका छन् । अब बस्ने केन्द्रिय समिति बैठक पूर्णरुपमा पार्टी सुदृढीकरणमा केन्द्रित हुने बताइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यता संघ र प्रदेशमा गरी २३ पटक सत्ता परिवर्तन भएको छ । पटक पटक सत्तामा पुगेको नेपाली कांग्रेस यसबेला गण्डकी प्रदेशमा बाहेक सबै प्रदेश र संघमा समेत प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ ।

मुलुकको सबैभन्दा ठूलो दल बनेपनि प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेसले अब भने आन्तरिक संगठनलाइ बलियो बनाउने गरी कामको प्राथमिकता परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

कांग्रेसको विधानमा नै टोल, वडा, पालिका, प्रदेश प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति, जिल्ला, प्रदेश, केन्द्रिय र कार्यसम्पादन समिति सम्म नौ तहमा समिति विस्तार गर्ने उल्लेख छ । विधानमा ४८ वटा विभागको व्यवस्था गरेको भएपनि पार्टीको महाधिवेशन सम्पन्न भएको करिब अढाइ बर्ष वितिसक्दा समेत अधिकांश विभागले पूर्णता पाएका छैनन् ।

१३ वटा भातृ २६ वटा शुभेच्छुक र ३७ वटा विदेश स्थित जनसम्पर्क समिति भएको कांग्रेसका अधिकांश भातृ तथा शुभेच्छुक सस्थाहरुको आवधिक निर्वाचन समेत हुन सकेको छैन । असार दोस्रो हप्ता भित्रमा सबै भातृ सस्थाको निर्वाचन सम्पन्न गर्न दिएको समय सीमा नजिकिएपनि तत्काल निर्वाचन हुने कुनै संकेत देखिएको छैन ।

संगठनको मूल खम्बा मानिने भातृसंगठनहरुको आवधिक निर्वाचन नहुदाँ बलियो हुन सकेका छैनन । त्यसको असर समग्र पार्टीमा परेको विश्लेषण गरिन्छ । नेपाली कांग्रेसकी नेता सरिता प्रसाइ संगठनलाइ मजबुत बनाउनेगरी पार्टीले गृहकार्य गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ ।

प्रतिनिधि सभाको निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसले नागरिकको आशा र अपेक्षा पुरा हुनेगरी काम गर्न नसकेको कांग्रेस नेताहरु नै स्वीकार गर्छन् । पहिले भएका कमी कम्जोरी समेत हटाएर भातृ, सुभेच्छुक संगठन देखि आन्तरिक लोकतन्त्रलाइ समेत ध्यान दिनुपर्ने उनीरुको भनाइ छ ।

कांग्रेस नेता शेखर कोइरालाले अब सत्ता केन्द्रित भन्दापनि नागरिकको एजेण्डा लिएर कांग्रेसले आन्तरिक संगठनलाइ बलियो बनाउनेगरी अघि बढ्नुपर्ने बताउनुभयो ।

फागुनमा महासमितिको बैठकको निश्कर्ष र मिलाउन बाँकी रहेका विषयमा छलफल गर्नेगरी असारको दोस्रो साताका लागि केन्द्रिय समितिको बैठक डाकेको छ । अब बस्ने केन्द्रिय समिति बैठक पूर्णरुपमा पार्टी सुदृढीकरणमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.