चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने प्रयास

काठमाडौं- ट्रायल पास गरेको वर्षौसम्म सवारी चालक अनुमतिपत्र लाइसेन्स प्रिन्ट गरेर दिनसमेत नसक्ने भएपछि सरकारले राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने प्रयास थालेको छ ।

यो प्रयोग सफल भएमा चालकहरूले लाइसेन्स बोक्नुपर्ने छैन भने यातायात व्यवस्था विभाग लाइसेन्स छाप्ने प्रक्रियाबाट पनि मुक्त हुनेछ । तर सडकमा ट्राफिक प्रहरीले चेकजाँच चाँही कसरी गर्ने भन्ने विषय भने फेरि बहसमा आएको छ ।

ट्रायल पास गरेकाहरुले एक वर्षसम्ममा पनि सवारी चालक अनुमतिपत्र लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागले ट्रायल पास गरेका २० लाखभन्दा बढीलाई लाइसेन्स दिन सकेको छैन ।

अहिले एउटा मास प्रिन्टरबाट दैनिक चार हजारको हाराहारीमा मात्रै लाइसेन्स छपाई भैरहेको छ । तर माग भने दैनिक ६ हजार भन्दा बढी छ । कोरोनाकालमा लाइसेन्स छपाई पूर्णरुपमा प्रभावित भएको थियो । त्यसको असर अहिलेसम्म परिरहेको छ ।

ट्रायल पास गरेको वर्षौसम्म लाइसेन्स प्रिन्ट गरेर दिनसमेत नसक्ने भएपछि यातायात व्यवस्था विभागले राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने प्रयास थालेको छ । आगामी आर्थिक वर्षको सुरुवातदेखि नै लागु गर्ने गरी सरकारले तयारी थालेको हो ।

त्यसमाथि सरकारले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको छ । यसले गर्दा राष्ट्रिय परिचय पत्रमा आवद्ध हुनेहरूको संख्या निरन्तर बढ्दो छ । तर पञ्जीकरण विभागले पनि समयमा राष्ट्रिय परिचय पत्र दिन सकेको छैन ।

लाइसेन्सलाई समेत एकीकृत गरी राष्ट्रिय परिचय पत्र तयार भएमा सडकमा ट्राफिक प्रहरीले चेकजाँच कसरि गर्ने भन्ने विषय भने अझैं अलमलमै छ ।

ट्राफिक प्रहरीले अहिले लाइसेन्समा उल्लेख भएको विवरण हेरेर चेकजाँच गर्ने गरेका छन् । अब राष्ट्रिय परिचय पत्रमा एकीकृत भयो भने कसरी चेकजाँच गर्ने भन्ने विषय अझै टुङ्गिसकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.