विमानस्थलको अध्यागमन कार्यालयमा सुधारको संकेत देखिन थालेको छ: गृहमन्त्री लामिछाने

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताउनुभएको छ ।

विमानस्थल अध्यागमन कार्यालयको निरीक्षण अनुगमन गर्नु हुँदै उहाँले अध्यागमनको सेवा सुधारका लागि विगत एक दशकदेखि नै आफ्नो चासो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यागमनमा सुधार भएको छ । थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको छौँ, समितिले तीन महिनामा आफ्नो प्रतिवेदन दिने छ र अध्यागमनमा थप सुधार गर्न मद्दत गर्ने छ ।”

यसैगरी उहाँले गृह मन्त्रालय नेतृत्वको पटक–पटकको अनुगमन र निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरु देखा पर्न थालेका दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा पछिल्लो समय हुँदै गरेको परिवर्तनको आभास अध्यागमनबाटै पाएको छु, अध्यागमन देशको प्रवेशद्वार भएकाले परिर्वतनको आवास पनि द्वारबाटै दिन खोजिएको हो ।”

यसैगरी उहाँले आफूले कार्यभार ग्रहण गरेको सय दिनको अवधिमा अध्यागमनमा आएको परिर्वतनले आफूलाई खुसी बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसर पारेर एक सय दिनको सुरुवात यहीँबाट गर्न म अध्यागमन आएको हुँ, तपाईंहरुलाई उत्साह मिलोस् भन्नका लागि म यहाँ आएको हो ।”

असल नियतले राम्रो काम गर्ने कर्मचारीलाई आफ्नो सधैँ साथ रहने उहाँको भनाइ छ ।

गृहमन्त्रीसँगै अध्यागमन कार्यालय पुग्नु भएका गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालय नेपाल सरकार र गृह मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको तुलनामा अध्यागमन कार्यालयमा सुधार भएको अनुभूति भयो ।

तर, सोचेअनुसारको सुधार गर्न अझै मेहेनत गर्नुपर्ने छ, सुधार गर्नुपर्ने सन्दर्भमा मन्त्रालयमा छलफल भइरहेको छ ।” पारदर्शी सेवाका लागि सरकारी सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपर लेस बनाउने योजना अनुसार नै काम भइरहेको गृह सचिव अर्यालले जानकारी गराउनुभयो ।

अध्यागमनको सेवा प्रवाहले नै देशमा हुने सेवा प्रवाहलाई झल्काउने भन्दै गृह सचिव अर्यालले दैनिक आठ हजार नागरिक आउने जाने स्थानमा चुस्त दुरुस्त सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालसहित अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली शुक्रबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय अनुगमनका लागि पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.